कञ्चनपुर । नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले प्रदेश ७ को भ्रमण गरेका छन् । पञ्चेश्वर परियोजनाको कार्यक्रममा सहभागी हुन प्रदेश ७ पुगेका राजदूत पुरीले विभिन्न निकाय तथा पदाधिकारीहरुसँग भेटवार्ता समेत गरेका छन् ।
उनले बिहीबार प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा समसामयिक विषयबस्तु बारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा भारतसँग जोडिएको प्रदेश ७ का नाकाहरुलाई थप व्यवस्थित गरी सुचारु गर्ने, द्धन्द्धकालमा बन्द रहेका छोटी भन्सारलाई खुल्ला गर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै भारत सरकारको सहयोगमा प्रदेश ७ मा सुचारु विकास परियोजनालाई दु्रतगतिमा अगाडी बढाउने सन्दर्भमा समेत छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्ताको क्रममा राजदूत परीले प्रदेश ७ को विकासको लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश ७ को आर्थिक विकासका लागि दुई देशका सीमावर्ती प्रदेशहरूबीच व्यापारिक सम्बन्ध बढाउनुपर्ने जोड दिएका थिए ।
मुख्यमन्त्री र अन्यसँगको भेटमा पुरीले गरेका वाचाः
- उत्तराखण्ड र उत्तरप्रदेशबाट दोधारा–चाँदनीसम्म रेलवे विस्तार गरिने
- नेपाल सरकारले विकासका योजना र कार्यक्रम दिए लगानी गर्न भारत तयार
- दुई देशबीचको व्यापारिक सम्बन्ध अझै फराकिलो बनाउने योजना
- भारतसँग जोडिएका प्रदेश ७ का नाकाहरूलाई थप व्यवस्थित गर्दै सुचारु गर्ने
- अन्य आवश्यक नाका खुलाउन भारतको केन्द्र सरकारसँग पहल गर्ने
- ड्राईपोर्ट बनाउन विषयमा भारत सरकारसँग कुरा गर्ने वाचा
- सडक, नहर, पानी लगायत प्रदेश ७ मा देखिएका समस्या समाधान गर्न भारत तयार रहेको जानकारी
राजदूत पुरी बिहीबार नै कञ्चनपुरको भ्रमणमा पनि निस्किए । कञ्चनपुर रहँदा पुरी उद्योग वाणिज्यसँघको कार्यक्रममा सहभागी भए । कञ्चनपुरमा रहँदा उनले कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग भेटवार्ता तथा अन्तरक्रिया गरेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघले विभिन्न माग राख्दै पुरीलाई ज्ञापनपत्र बुझाएको छ । सुख्खा बन्दरगाह, ब्रह्मदेव नहर, नेपाल भारत जोड्ने बाटो लगायतका विषयमा राजदूत पुरीलाई ज्ञापनपत्र बुझाईएको उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश रावलले जानकारी दिए ।

राजदूत परीले शुक्रबार पञ्चेश्वर बहुउद्देश्यी परियोजना अन्र्तगत हेडक्वार्टरको अनुगमन गरेका छन् । भारत सरकारको मुख्य लगानीमा बन्ने चर्चामा रहेको पञ्चेश्वर परियोजनाको अनुगमन गरेका हुन् ।
त्यस्तै महकाली नदीमा अवस्थित सारदा व्यारेजको समेत अवलोकन गरेका छन् । पश्चिम क्षेत्रको नेपाल–भारत सीमा क्षेत्रको अवलोकन गरेका हुन् । सीमा अवलोकन गर्न गड्डाचौकी क्षेत्रमा पुगेका राजदूत पुरीले भारतीय सीमा सुरक्षा बल एसएसबीको ५७ औं बाहिनीको शैनिक सम्मेलनको समेत उद्घाटन गरेका छन् ।
तस्बिरः भारतीय राजदूतावासको ट्वीटरबाट





























प्रतिक्रिया