काठमाडौँ
अहिलेको संसदमा पुराना दुई अनुभवी राजनीतिज्ञ छैनन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई संसदमा ‘मिस’ गरिएको छ । बिजुक्छे पाँचपटक सांसद भए, सरकारमा कहिल्यै सहभागी भएनन् । केसी सामान्य जीवनशैली र सत्तापक्ष माथिको खरो प्रस्तुतिका कारण अघिल्ला संसदमा चर्चामा रहन्थे । यसअघिको केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए ।
एक–दुई सिट हुँदा पनि अघिल्ला संसदमा केही चल्तीका सांसदको तत्कालीन पार्टी अस्तित्वविहीन बने पनि आफ्नो पद जोगाएका छन् । ठूला पार्टीमा प्रवेश गरेर उनीहरू अहिले पनि सांसद बनेका छन् । अखण्ड नेपाल पार्टी गठन गरेर दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका कुमार खड्का प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिका मन्त्री समेत बने । यसपटकको निर्वाचनमा थ्रेसहोल्ड लागू भएपछि निर्वाचन अघि नै उनी कांग्रेस छिरे र आमन्त्रित केन्द्रीय सदस्य बने । अहिले प्रदेश ४ को सांसद पनि छन् । संसदीय दलको नेतामा दाबेदारी गरिरहेका छन् ।
सद्भावना आनन्दीदेवीका तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सांसद सरिता गिरी बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रममन्त्री बनिन्, तर बर्खास्तीमा परिन् । आनन्दीदेवी पछि श्यामसुन्दर गुप्तासँगै पार्टीमा सक्रिय रहिन् । गुप्तासँग पनि विवाद भएपछि उनले नेपाल सद्भावना पार्टी गठन गरिन् । दोस्रो संविधानसभामा चुनाव पनि लडिन्, तर जितिनन् । ०७१ फागुनमा अनिल झाको संघीय सद्भावना पार्टीसँग एकता गरेर सह–अध्यक्ष भइन् ।
त्यसपछि अनिल झाले कानुन विपरीत काम गरेको भन्दै अदालतसम्म पुगिन् । तर मुद्दा नुटुंगिदै उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा पुगिन् । खस आर्य कोटाको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस भएकी उनी अहिले प्रतिनिधिसभामा सांसद छिन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि अतहर कमाल मुसलमानले कपिलवस्तु–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनाव पनि जिते । स्वतन्त्र सांसद कमाल त्यतिबेला उपराष्ट्रपतिको उम्मेदवार समेत बनेका थिए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया