काठमाडौँ
फौज्दारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबारे कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरू आएमा शपथ लिन सक्ने संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । सिलवाल हिजो आयोजित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको दुवै सदनका सदस्यलाई आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।
प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् । दुवै सदनको संयुक्तरूपलाई संघीय संसद भनिन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदन मानिन्छ । गत मंसिर १० र २१ मा प्रतिनिधि सभा र गत माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन भएको थियो ।
संसद् सचिवालयकाका अनुसार सिलवाल र चौधरीले सपथ लिन पाउने भएपनि राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेलले नपाउने भएका छन्। तत्कालका लागि तीनै जनाको सपथ रोक्ने सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण उनीहरूको सपथ नहुने प्रवक्ता गौतमले बताए । तीन जना मध्ये युवराज खतिवडा सांसदको सपथ नलिइकनै अर्थमन्त्री भइसकेका छन् ।
रासस





























प्रतिक्रिया