धनगढी
टीकापुरमा शुक्रबार राती भएको युवक हत्याकाण्डमा संलग्नहरुलाइ पक्राउ गर्नु पर्ने माग गर्दै शनिबार टीकापुर बजार दिनभरी तनावग्रस्त रह्यो । मृतकका आफन्तहरुले हत्यारालाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै शनिबार विहानै देखि टीकापुर बन्द गराएका हुन् । टीकापुर बजारको चोक चोकमा टायर बाल्दै आफन्तहरुले युवकका हत्यारालाई पक्राउको माग गरेका थिए ।
शुक्रबार राति टीकापुरको खुला मञ्चमा स्थानीय २१ वर्षीय करण थापाको खुकरी प्रहार गरी विभत्स तरिकाले हत्या गरिएको थियो । प्रहरीले हत्यापछि सोधपुछका लागि १३ जनालाई पक्राउ गरेको छ । आफन्तहरुले पक्राउ परेका मध्ये कसैको संलग्नता छ वा छैन, छैन भने खुकुरी हान्नेलाई समात्नु पर्छ भनेर टीकापुर बन्द गराएका हुन् । टीकापुरमा तनाव भएपछि कैलालीका प्रहरी उपरीक्षक विनोदप्रसाद घिमिरे आफैँ टीकापुर पुगेका छन् । उनले पक्राउ परेका १३ जनाको बयानपछि हत्यामा दुई जनाको संलग्नता रहेको खुलेको बताए ।
मृतकका आफन्तहरुले शुत्रबार राति गरिएको हत्यापछि शव बुझ्न मानेका छैनन् । प्रहरी उपरीक्षक घिमिरेले पक्राउ परेकाको बयानका आधारमा खुकुरी हान्ने दुई जनाको पहिचान भएको तर दुवै जना फरार रहेको बताए । यस्तै टीकापुुर क्षेत्रका राजनीतिक दलहरुले शनिबार नै प्रेस विज्ञप्ती प्रकाशित गर्दै हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई सघाउने प्रतिवद्धता जनाएका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया