काठमाडौं
एमाले र माओवादी केन्द्रबाट सरकारमा जानेको नाम टुंगो लगाउने जिम्मा दुवै पार्टीले आआफ्ना अध्यक्षलाई सुम्पेका छन् । दुवै पार्टीका बैठक र दोस्रो तहका नेताबीचको औपचारिक र अनौपचारिक छलफलबाट पनि मन्त्रीको नाम टुंगो लाग्न नसकेपछि अध्यक्षलाई जिम्मा दिइएको हो ।
एमालेको शुक्रबार बसेको स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको हो। माओवादी केन्द्रको विस्तारित बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न जिम्मेवारी दिएको थियो । शुक्रबार बसेको तीन नेताको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष दाहाललाई सुम्पेको हो । तीन नेताले प्रदेशअनुसार सूची बनाएका थिए ।
पार्टीका नयाँ, पुराना, समानुपातिक र भौगोलिक आधार मिलाएर मन्त्री छान्न जिम्मेवारी दिइएको थियो । प्रदेश अनुसारको सूची बमोजिम प्रदेश १ बाट अमनलाल मोदी, सुरेश राई, सुदन किराँती, प्रदेश २ बाट मातृका यादव, गिरिराजमणि पोखरेल, प्रदेश ३ बाट रामबहादुर थापा बादल र पम्फा भुषाल, प्रदेश ४ बाट देवेन्द्र पौड्याल र हरि अधिकारी, प्रदेश ५ बाट वर्षमान पुन र चक्रपाणि खनाल, प्रदेश ६ बाट जनार्दन शर्मा, प्रदेश ७ बाट विना मगर र लेखराज भट्ट सिफारिसमा परेका थिए ।
नेता नारायणकाजी श्रेष्ठले भने, ‘नाम छनोट सकिए पनि अन्तिम नाम भने अध्यक्ष दाहालले नै छान्नु हुनेछ।’ स्रोतका अनुसार दाहालले छलफल गरी शनिबारसम्म नामको अन्तिम टुंगो लगाउने भएका छन् । यता एमालेको शुक्रबारको स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई मन्त्री छान्ने अधिकार दिए पनि सबै जात, भूगोलको सन्तुलन मिलाएर मात्र नाम छान्न नेताहरूले सुझाव दिएका छन् । भूगोल, समावेशीता र पार्टीमा योगदान, योग्यता साथै क्षमता पनि ध्यानमा राख्न नेतृत्वलाई सुझाव दिएको बैठकमा सहभागी एक नेताले बताए । जानकारी अनुसार मन्त्रिपरिषद विस्तार आइतबार मात्र हुने भएको छ । दुवै पार्टीले सरकारमा जाने मन्त्रीको नाम टुंग्याउन नसकेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो। एमाले सचिव प्रदीप ज्ञवालीले आइतबार मात्र मन्त्रिपरिषद विस्तार हुने बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया