काठमाडौं
सात प्रदेश मध्ये ६ प्रदेशका भावी मुख्यमन्त्रीको नाम करिब तय भएको छ । वाम गठबन्धनको बहुमत रहेको प्रदेश नम्बर ४ मा भने एमालेले अझै संसदीय दलको नेता चयन गरेको छैन । संवैधानिक व्यवस्था अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने हुँदा मुख्यमन्त्रीको भावी नेतृत्व पनि दलको नेता चयनसँगै टुङ्गो लागेको छ । संवैधानिक व्यवस्था अनुसार अब प्रदेश प्रमुखले मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढाउनु पर्नेछ ।
संवैधानिक कानुनका जानकार डा. चन्द्रकान्त ज्ञवालीले अब प्रदेश प्रमुखले बहुमत प्राप्त दलको नेतालाई मुख्यमन्त्री चयन गर्ने गरी प्रक्रिया अघि बढाउनु पर्ने बताए । उनले भने ‘संविधानको व्यवस्था अनुसार पहिलो चरणमा बहुमत प्राप्त दलको नेतालाई मुख्यमन्त्री चयनका लागि प्रक्रिया अघि बढाउनुपर्छ । यस प्रक्रियाबाट नभए दुई भन्दा बढी दलको समर्थनमा बहुमत पु¥याउने दललाई मुख्यमन्त्री चयनका लागि आह्वान गर्नु पर्ने हुन्छ । ’ पहिलो चरणबाट दुई प्रदेशमा मात्र मुख्यमन्त्री बन्ने सम्भावना छ । प्रदेश १ र ३ मा एमालेको बहुमत छ । प्रदेश १ मा शेरधन राई र ३ मा डोरमणि पौडेल संसदीय दलको नेता चयन भइसकेका छन् । संवैधानिक व्यवस्था अनुसार उनीहरू नै मुख्यमन्त्री हुनु हुनेछ ।
प्रदेश १ र ३ बाहेकका अन्य पाँचै प्रदेशमा मुख्यमन्त्री एक भन्दा बढी दलको समर्थनमा हुने अवस्था छ । प्रदेश २ मा मधेसी गठबन्धनका तर्फबाट सङ्घीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री हुने निश्चित छ । शनिबार फोरम र राजपा बीच भएको पद बाँडफाँटको सहमति अनुसार मुख्यमन्त्री फोरमले पाउनेछ । प्रदेश ५ को मुख्यमन्त्रीमा भने एमालेका शङ्कर पोखरेलको नाम निश्चित छ । पोखरेल एमाले प्रदेश ५ को दलको नेता चयन भइसकेका छन् । प्रदेश ५ को मुख्यमन्त्रीमा उनी एकल दाबेदार समेत थिए ।
वाम दल बीच भएको सहमति अनुसार प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ । दुवै प्रदेशमा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरिसकेको छ । दलको नेता चयनसँगै एमालेको समर्थनमा दुवै प्रदेशमा हुने मुख्यमन्त्री पनि निश्चित भइसकेका छन् । माओवादीले प्रदेश ६ मा पूर्वउर्जामन्त्री महेन्द्र बहादुर शाहीलाई संसदीय दलको नेतामा चयन गरेको छ भने प्रदेश ७ मा त्रिलोचन भट्टलाई संसदीय दलको नेतामा चयन गरेको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया