चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जहाँ पनि जसरी पनि’ विदेशी लगानी भित्रिन थाल्यो भने सबै विस्थापित हुने बताएका छन् ।
नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ आँै साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलन्यास समारोहलाई आज रामनगरमा सम्बोधन गर्दै उनले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने हुँदा सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने विचार व्यक्त गरे ।
उनले अहिलेको विश्वव्यापीकरणको दुनियाँमा कुनै खास क्षेत्रमा विदेशी लगानी ल्याएन भने पनि अर्थतन्त्रले गति लिन नसक्ने र त्यसमा जीवन्तता हुननसक्ने बताए ।
हालै सम्पन्न निर्वाचनमा प्रगतिशील वामपन्थी गठबन्धनका पक्षमा अनि स्थायित्व र संमृृद्धिको पक्षमा जनमत प्रकट भएको भन्दै उनले त्यसैअनुरुप सरकारले राष्ट्रका तर्फबाट किसान हक हितका पक्षमा काम गर्नुपर्ने बताए ।
सो अवसरमा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले १५ वर्ष देखिनै नेपाल पोल्ट्रीमा आत्मनिर्भर भएको भन्दै आत्मनिर्भरलाई निरन्तरता दिन रु १०/१५ अर्ब वार्षिक लगानी थप्नुपर्ने आवश्यकता औँल्याए । प्रदेश नं ३ का भूमि व्यवस्थापन कृषि विकास र सहकारी मन्त्रालयका सचिव डा बंसि शर्माले पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउने नीति नभएको बताउनुभयो । उद्योग वाणिज्य महासंघका सदस्य डा तिलचन्द्र भट्टराईले वार्षिक रु १७ अर्ब भन्दा बढीको मकै, भट्टमास, सूर्यमुखी पिनालगायतका कच्चा पदार्थ विदेशबाट आउने गरेको बताए ।





























प्रतिक्रिया