जनकपुरधाम
प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक आइतबार (आज) जनकपुरमा बस्दैछ। पहिलो बैठकको सभामुखको भूमिकामा ज्येष्ठ सदस्य लगनलाल चौधरी हुनेछन् । ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ का एमाले विधायक हुन् । बैठकको सुरुमा सभामुखको आसनबाट चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउने छन् ।
प्रदेश २ मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका नेता शनिबार साँझ बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले उक्त कार्यसूचि तय गरेको हो । आइतबारको प्रथम बैठकबाट प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गरेपछि प्रदेशसभाको नियमित काम अघि बढाउन सहज हुनेछ ।
सर्वदलीय बैठकले फागुन २ गते बस्ने प्रदेशसभाको अर्को बैठकबाट सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । त्यसैगरी मस्यौदा नियमावली संशोधन माघ २९ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले गर्ने र सोही दिन बस्ने प्रदेशसभाको बैठकले सभामुख तथा उपसभामुखको निर्वाचन प्रक्रियाबारे टुंगो लगाउने निर्णय भएको संघीय संसद सचिवालयका सहसचिव वंशिराज पौडेलले सर्वदलीय बैठकको निर्णयपछि सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । प्रथम बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलको तर्फबाट एक/एक जना सदस्यलाई बोल्न दिने समेत कार्यसूचिमा रहेको पौडेलले बताए। यसैगरि आज नै प्रदेश नं ४, ५ र ६ को पहिलो वैठक बस्ने बताइएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया