चुनावका १० रोचक पक्ष (भिडियो सहित)

चुनावका १० रोचक पक्ष (भिडियो सहित)


१. फरार अभियुक्तले चुनाव जिते
टीकापुर हत्याकाण्डका आरोपी फरार अभियुक्त मानिएका रेशमलाल चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ३४ हजार ३ सय ४१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत पाएकी छन् । अर्थात रेशमलाल चौधरीले २० हजार ९ सय ३५ मतान्तरले जीत हासिल गरेका छन् ।

एक बालकसहित ९ प्रहरीको विभत्स हत्या भएको टीकापुर काण्डको मुख्य योजनाकार भनिएका चौधरील अत्याधिक मतसहित विजयी बन्नु रोचक विषय भएको छ । रेशमले भूमिगत अवस्थाबाटै राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । उनले सामाजिक सञ्जाल र पर्चामार्फत मात्र मत मागेका थिए । तर, मतगणनाको शुरुदेखि नै उनले कायम गरेको अग्रता आश्चर्यजनक रह्यो । रेशम चौधरीले कसरी यति धेरै मत पाए भन्ने प्रश्न अहिले टीकापुरमा मात्रै नभएर देशैभर चर्चाको विषय भएकोछ ।
चौधरीलाई प्रहरीले टीकापुर हत्याकाण्डको मुख्य योजनाकार ठहर गर्दै पक्राउ गर्न खोजेपछि उनी फरार भएका थिए । फरार चौधरीले आफू टीकापुर काण्डमा निर्दाेष रहेको भन्दै थारु समुदायमाथि ज्यादती नगरेको बताउँदै आएका छन् ।

जे होस उनी निर्वाचित भएको प्रमाणपत्र लिन आउँछन् कि आउँदैनन् ? त्योबेला सरकारले उनलाई के गर्ला ? यो भने आम चासोको विषय बनेको छ ।

२. जसले मात्रै एक भोट पाए
प्रतिनिधि सभा निर्वाचनमा ५ जनाले आफ्नो मात्रै मत पाएका छन् । संगठित पार्टीबाट १ जना र स्वतन्त्रका ४ जना उमेद्वारले मात्रै एक मत पाएका हुन् । प्रदेश नम्बर ४ को स्याङजा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि नेपाली कांग्रेस बीपीबाट उमेद्वारी दिएका भक्तबहादुर राईले मात्रै १ मत पाएका छन् । यस्तै ३ नम्बर प्रदेश अन्तरर्गत काठमाण्डौ क्षेत्र नम्बर ३ बाट स्वतन्त्रका उमेद्वार रोशन कार्कीले १ मत र प्रदेश नम्बर ३ कै रसुवा क्षेत्र नम्बर १ बाट स्वतन्त्रका उमेद्वार रोशन डंगोलले १ मत पाएका छन् ।

यसैगरी प्रदेश नम्बर ४ अन्तर्गत स्याङजा क्षेत्र नम्बर १ बाट चण्डीप्रसाद पौडेलले १ मत प्राप्त गरेका छन् भने प्रदेश ४ कै लमजुङ क्षेत्र नम्बर १ बाट स्वतन्त्रका उमेद्वार रामचन्द आचार्यले १ मत मात्रै पाएका छन् ।

३. पार्वत गुरुङको मतान्तर मात्र ३०,७४४
३ नम्बर प्रदेश अन्तर्गत दोलखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्वत गुरुङ सबैभन्दा बढी मतान्तरले निर्वाचित भएका छन् । एमालेबाट प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिएका उनले ५५ हजार ४ सय ५७ मत प्राप्त गर्दै दोब्बर बढी मतले निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उमेद्वार ध्रुव खड्काले २४ हजार ८ सय १३ मत ल्याएका छन् । यी दुईको मतान्तर ३० हजार ७ सय ४४ छ ।

४. सवैभन्दा बढी मत ल्याउने केपी ओली
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रेकर्ड राखेका छन् । उनी सवैभन्दा बढी मत ल्याएर झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
अध्यक्ष ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर चुनाव जितेका हुन् । यस निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत यो नै सवैभन्दा बढी हो । ओलीका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मतमा चित्त बुझाउनु परेको छ ।

५. ५ मतले चुनाव हारे, कांग्रेस नेता पौडेलले
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल ५ मतको कमीले पराजित भएका छन् । उनी तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका थिए ।
पौडेल नेकपा माओवादीकी नेतृ तथा विना विभागीय मन्त्री आशा कोइरालासँग पराजित भएका हुन् । पौडलले १६ हजार ६ सय ४१ पाए भने विजयी कोइरालाले १६ हजार ६ सय ४६ मत पाइन् । नेपाल विद्यार्थी संघका पूर्व सभापति पौडेल पार्टीमा राम्रो छवी भएका नेतामा गनिन्छन् ।

६. बाम गठबन्धनका सुत्रधार बामदेव र नारायणकाजीले नै चुनाव हारे
नेकपा एमाले र माओवादी केन्द्रलाई मिलाएर चुनावी गठबन्धन बनाउन सुत्रधारको भूमीका खेल्ने एमाले उपाध्यक्ष बामदेव गौतम र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दुवैले चुनाव हारेका छन् ।
बामदेव गौतम बर्दिया–१ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका हुन् भने नारायणकाजी श्रेष्ठले गोरखावाट नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईसँग हार खाएका हुन् । बाम गठबन्धनले चुनावमा ऐतिहासिक सफलता पाइरहेका बेला दुई पार्टीका बरिष्ठ नेता तथा सुत्रधारहरुले नै चुनाव हार्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

७. करोडौंको घर खरिद गरेर स्थानीय भएकी आरजु पराजित
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाले चुनावमा उठ्नकै लागी कैलालीमा करोडौंको घर जग्गा खरिद गरेकी थिइन् । टुरिष्ट उम्मेदवार भनिने डरमा स्थानीय हुन उनले खरिद गरेको घरको चर्चा देशब्यापी रुपमा भएको थियो । कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी आरजुले चुनावकै बीचमा आफू उठेको कैलाली क्षेत्र नम्बर ५ मा घर खरिद गरेकी थिइन् । तर उनी एमालेका नारदमुनि रानाबाट पराजित भइन् । विजयी रानाले २७ हजार २ सय २ मत पाउँदा घर खरिद गरेकी प्रधानमन्त्री पत्नी देउवाले २२ हजार ३ सय २२ मतमा चित्त बुझाउनु परो ।

८. ५ पूर्व उपप्रम र एक बहालवाला उपप्रम पराजित
हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा आधा दर्जन पूर्व उपप्रधानमन्त्री पराजित भएका छन् । आधा दर्जन मध्ये १ जना पराजित उम्मेदवार बहालवाला हुन् ।
पराजित हुने पूर्व उपप्रधानमन्त्रीमा कांग्रेसबाट ३, एमालेबाट १, माओवादीबाट १, जना गरी ५ जना रहेका छन् भने राप्रपावाट चुनाव हार्ने कमल थापा वर्तमान उपप्रधानमन्त्री हुन् ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भए भने एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतमलाई पनि यो निर्वाचनले लडायो । यस्तै नेपाली कांग्रेसका हस्ती मानिएका कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट पराजित भए । यी तीनै जना पूर्व उपप्रधानमन्त्री हुन् ।

यसैगरी गोरखा–२ बाट वाम गठबन्धनका सूत्राधार समेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि पराजय व्यहोर्नु परेको छ । धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधिले पनि मधेसी गठबन्धनका राजेन्द्र महतोसँग पराजय भोग्नु परो । श्रेष्ठ र निधी पनि पूर्व उपप्रधानमन्त्री हुन् ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राप्रपाका कमल थापाले समेत नमिठो पराजय भोग्नु परो । उनी वहालवाला उपप्रधानमन्त्री हुन् ।

९. काठमाडौंका पूर्व नगरप्रमुख हरिबोललाई जम्मा १९६ मत
वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सभापती हरिवोल भट्टराई काठमाडौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा १ सय ९६ मत ल्याएर पराजित भएका छन् । भट्टराई काठमाडौंका पूर्व नगर पिता हुन् । उनी २०४३ सालमा काठमाडौंको मेयर भएका थिए । कुनै समय हरिबोल नेपाली राजनीतिमा नै चर्चित नाम थिए । वी.पी चिन्तन प्रतिष्ठानका सभापति, समाजबादी प्रजातन्त्रवादी नेताका रुपमा चर्चित भट्टराई अत्याधिक मत सहित काठमाडौंको प्रधानपञ्च निर्वाचित भएका थिए ।

१०. बामगठबन्धनवाटै ६ मा ६ महिला निर्वाचित
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ३३ प्रतिशत महिला उमेद्वारी समेत पुगेन । तर उठेका अधिकांश महिला प्रत्यक्ष निर्वाचनमा विजयी भएका छन् ।
घोषित परिणाम अनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला, पद्मा अर्याल र बिना मगर निर्वाचित भएका छन् । निर्वाचित सबै वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

रोका पूर्वी रुकुम, भुसाल ललितपुर ३, पौडेल प्यूठान, निरौला झापा २, अर्याल स्याङजा २ र मगर कञ्चनपुर १ बाट निर्वाचित भएका हुन् ।
प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये भुसाल नेकपा (माओवादी केन्द्र)की प्रवक्ता हुन् । मगर र रोका पनि माओवादीकै पोलिटब्यूरो सदस्य हुन् । पौडेल जनमोर्चा नेपालकी उपाध्यक्ष, निरौला र पौडेल एमालेका नेता हुन् ।

प्रमुख राजनीतिक दलले कूल १६५ निर्वाचन क्षेत्रमध्ये १८ जनालाई मात्रै उम्मेदवार बनाएका थिए । दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सातजना, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीनजना महिलाको उम्मेदवारी परेको थियो ।

काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर–२ बाट महालक्ष्मी (डिना) उपाध्याय, काठमाडौं–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली–१ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा थिए । उनीहरु सबै पराजित भएका छन् ।

 

 

Logo