काठमाडौं,१५, मंशिर
मङ्सिरको दोस्रो सातासम्म पनि हिउँदे पानी नपर्दा र हिमालको हिउँ नपग्लँदा हिमनदीमा पानीको मात्रा कम भई ‘रन अफ द रिभर’ प्रणालीमा आधारित आयोजनाबाट गत वर्षको भन्दा कम्तीमा ५० मेगावाट बिजुली कम उत्पादन हुन थालेको छ । यसबाट नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली प्रभावित हुन भएको छ । प्राधिकरणका अनुसार नदीमा पानीको मात्रा कम हुँदा ‘रन अफ दि रिभर’ प्रणालीका विद्युत् आयोजनामा विगत दस वर्ष यता सबैभन्दा बढी प्रभाव परेको छ । गतवर्षको भन्दा यस वर्ष आकाशे पानी पनि कम परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गतवर्ष कात्तिक महिनामा तीन÷चार पटक वर्षा भएको थियो भने मङ्सिरको दोस्रो साता उच्च हिमाली क्षेत्रमा दुई पटकसम्म हिमपात भइसकेको थियो ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यो वर्ष मंशिरको यो अवधिमा विभिन्न जलविद्युत् आयोजनाबाट कम्तीमा ५० मेगावाट बिजुली कम उत्पादन भइरहेको छ । प्राधिकरणको वितरण प्रणालीमा ठूलो योगदान दिने कालीगण्डकी, तल्लो मस्र्याङ्दी, मध्य मस्र्याङ्दीबाट मात्र कम्तीमा ४० मेगावाट बिजुली कम उत्पादन भइरहेको छ । प्रवक्ता अधिकारीले भने, कालीगण्डकीबाट मात्र यो समयमा गत वर्षको यो अवधिमा भन्दा २२ मेगावाट बिजुली कम उत्पादन भइरहेको छ । त्यसैगरी तल्लो मस्र्याङ्दी र मध्य मस्र्याङ्दीमा गरी २० मेगावाट कम उत्पादन भइरहेको छ । काली गण्डकीको पूर्ण उत्पादन क्षमता १४४ मेगावाट, तल्लो मस्र्याङ्दीको ६९ मेगावाट र मध्य मस्र्याङ्दीको पूर्ण उत्पादन क्षमता ७० मेगावाट हो । हिमनदीमा आधारित यी तीनवटै आयोजनामा मात्र यति ठूलो मात्रामा विद्युत् उत्पादनमा कमी आएको र भारतबाट खरिद गरेको टनकपुर प्रसारण लाइनबाट आउनुपर्ने बिजुली कटौती भएपछि प्राधिकरणलाई लोडसेडिङ व्यवस्थापन गर्न निकै चुनौती खडा भइरहेको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया