काठमाडौँ, ६ असोज। हुलाक सेवा विभागअन्तर्गत नेपाल फिलाटेलिक ब्युरोले विभिन्न प्रकारका नयाँ हुलाक टिकट प्रचलनमा ल्याएको छ ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ओखलढुंगाको पोकली झरना, नेपाली खाना परिकार (योमरी, सेलरोटी अनर्सा र लाखामरी), परम्परागत गरगहना (तिलहरी, बाला, कल्ली र बुलाकी), राष्ट्रिय झण्डा र निर्वाचन आयोगको प्रतीक चिह्नअंकित नयाँ हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाए ।
त्यसैगरी जनकविकेशरी धर्मराज थापा र राजनीतिकर्मी सरोज कोइरालाको तस्वीर तथा प्राचीन स्तनधारी जनावरअंकित टिकटको पनि आजै प्रथम टाँचा लगाइएको छ । ती टिकटको मूल्य १ देखि ५ सयसम्म तोकिएको छ ।
सो अवसरमा मन्त्री बस्नेतले यस किसिमको टिकट प्रकाशनले नेपालको परम्परागत संस्कृति, लोपोन्मुख प्रजाति तथा भौगोलिक विविधतालाई जोगाउने बताउँदै लोकसंस्कृति, परम्परा र देशका लागि बलिदान दिने शहीदको सम्मान गर्नुपर्नेमा जोड दिए । उनले नयाँ प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि मानिसको चाहनानुरुप नयाँ ढंगबाट अगाडि बढाउँदै लानुपर्ने बताए ।
आइतबारदेखि बिक्री गरिने उक्त टिककको डिजाइन हुलाक सेवामा कार्यरत कला अधिकृत पूर्णकला लिम्बूले गरेका हुन् । प्रत्येक विधाको टिकट ५० हजार प्रति छापिएको आयोजकले जनाएको छ ।





























प्रतिक्रिया