कोरोना महामारीपछि नेपालमा फस्टाउँदै ई–कमर्श व्यवसाय (भिडियोसहित)

कोरोना महामारीपछि नेपालमा फस्टाउँदै ई–कमर्श व्यवसाय (भिडियोसहित)


काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र धरासायी बन्दै गएको छ । सात महिनाभन्दा बढी जारी गरिएको लकडाउनले विश्वभरका साना ठूला उद्योग, कलकारखाना र व्यापार व्यवसाय बन्द हुँदा अर्थतन्त्र तहसनहस बन्दै गएको हो । पछिल्लो समय कतिपय मुलुकले लकडाउनको अन्त्य गर्दै जनजीवन सहज बनाउन थालेका छन् भने कतिपय मुलुक अझै लकडाउन र निषेधाज्ञाका कारण पुरानो लयमा फर्किन सकिरहेका छैनन् ।

त्यस्तै कतिपय व्यवसाय पलायन हुने अवस्थामा पुगेका छन् भने धेरैले नियमित आम्दानी समेत गुमाएका छन् । तर कोरोना भाइरसले गुमाउने वातावरण मात्र सृजना नगरी कतिपय अवसरका ढोका पनि खुल्ला गरिदिएको छ । त्यसकै राम्रो उदाहरण हो नेपालमा पछिल्लो समय फस्टाउँदै गएको ई–कमर्स व्यवसाय ।

लकडाउनको समयमा परम्परागत व्यवसायहरु पलायन हुने अवस्थामा पुग्दा ई–कमर्स व्यवसायको भने आम्दानी र लोकप्रियता असामान्य रुपले बढ्दै गएको छ । नेपालमा पनि कोरोनाका कारण अधिकांश व्यापार व्यवसाय पलायन हुने अवस्थामा पुगेका छन् । तर, महामारीमा केही यस्ता व्यापार छन् जसले सामान्य अवस्थामा भन्दा उच्च रुपले आम्दानी वृद्धी गरेका छन् । यस्ता व्यवसायमा ई–कमर्स व्यवसाय अग्रणी स्थानमा रहेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा मात्रै प्रचलनमा रहेको ई–कमर्स व्यवसाय विगत तीन चार वर्षदेखि नेपालमा पनि भित्रिएको छ । यो व्यवसायमा केही वर्ष अघिसम्म अनलाइन सपिङको विषयमा जानकारी नभएका नेपालीहरु पछिल्लो समय ई–कमर्स अर्थात अनलाइन सपिङमा आकर्षित हुँदै गएका छन् । यसले परम्परागत रुपमा चल्दै आएको व्यापार व्यवसायको परिभाषा नै बदलिदिएको छ । बजारमा गएर आफूलाई मन परेका सामानहरु रोजीरोजी खरिद गर्ने वातावरण नहुँदा नेपालीहरु घरमै बसीबसी ई–कमर्स कम्पनीका मोबाइल एप र वेबसाइटबाट खोजे जस्तो ब्राण्ड र मूल्य तुलना गरी सहजै अर्डर गर्न थालेका छन् ।

कोरोना महामारीकै बीचमा स्टार्टअप ई–कमर्स व्यवसाय पनि फस्टाएका छन् । यो बीचमा ई–कमर्स व्यवसाय सुरु गर्ने पहिलो साइट हो ग्यापु । ग्यापुले यो महामारीलाई अवसरमा बदलेर अहिले उपत्यकाभर सेवा दिइरहेको छ ।

त्यस्तै अहिले नेपाली बजारमा दराज, हाम्रो बजार, सस्तो डिल, फुडमाण्डु, स्मार्ट डोको, गजबको, मेट्रो तरकारी, मुञ्चा डट कम, नेपवे, मेरो किराना स्टोर, सपमाण्डु लगायत ई–कमर्स कम्पनीहरु अनलाइन मार्फत सेवा दिईरहेका छन् । साथै यी बाहेक विभिन्न होटल, रेष्टुरेण्ट तथा सरकारी निकाय खाद्य प्रविधि संस्थानले समेत अनलाइन कारोबार सञ्चालन गरी उपभोक्तालाई सेवा दिइरहेका छन् ।

Logo