चर्चामा दुई मेयर

चर्चामा दुई मेयर

केन्द्रबिन्दु
0
Shares

यतिबेला सामाजिक सञ्जालभरी धरानका मेयर हर्क र काठमाडौंका मेयर बालेनको चर्चा छ ।

मेयर हर्क आफनो फेसबुक पेजमा दिनभरीमा ३० देखि ३५ आलोचनात्मक स्टाटस राखेर  चर्चामा छन् भने बालेन अवैध संरचनामा डोजर चलाएर । आजको अंकमा हामी यसै विषयमा चर्चा गर्नेछौं । सामाजिक सञ्जालमा निकै लोकप्रिय रहेका अनि मेयर भएपछि गरेका कामको पनि तारिफ भएका हर्कको बालेनप्रतिको टिप्पणीले निकै नै आलोचना भएको छ । यसै क्रममा धरानमा श्रमदानका लागि मानिसहरुलाई आह्वान गर्ने नाममा उनले सामाजिक सञ्जालमा धम्कीपूर्ण सन्देश लेखेको समेत आरोप लाग्न थालेको छ ।

मेयर हर्क एकोहोरो भएर आफ्नो काममा नलागी बरालिएको भन्दै सर्वसाधारणले शान्त रहन सुझाव दिन थालेका छन् । हर्क सामाजिक सञ्जालमा निकै सक्रिय हुने जनप्रतिनिधीमा पर्छन् । उनी आफूले गरेका हरेक कार्यहरुको विवरण नै सामाजिक सञ्जालमा राख्छन् । जनप्रतिनिधी भएर आएपछि उनले गरेका दैनिक कामकारवाहीमा सन्तुष्ट हुनेहरु पनि धेरै छन् । अभियान्ताको काम गर्दै र विभिन्न सामाजिक कार्यक्रम चलाउँदै आएका साम्पाङका समर्थकहरु धरानमा धेरै थिए । तर उपनहानगरका मेयर बनेपछि एकाएक अत्यधिक समर्थक पाउन सफल भए ।

उनले सामाजिक सञ्जालमा राखेका स्टाटसमा अभिव्यक्ति दिनेहरु पनि धेरै नै देखिन्छन् । उनले लेखेका हरेक स्टाटसमा आउने अभिव्यक्ति ठिकै हुने गरेका थिए । जसबाट उनको पक्षमा धेरै मत रहेको देखिन्थ्यो । उनले धरानको विकासका लागि ९ १० ११ र १२ कक्षामा पढ्ने प्रत्येक विद्यार्थीले कम्तिमा वर्षको सात दिन सकेको श्रम गर्नुपर्छ । त्यो सरसफाइ,वृक्षारोपण लगायत जे पनि हुन सक्छ । भन्दै एउटा स्टाटस लेखे ।

जुन स्टाटसमा उनका समर्थकहरुले पनि उनले दिएको अभिव्यक्ति गलत भएको टिप्पणी गरे । विद्यार्थीले श्रमदान गर्नुपर्ने विषयमै उनले फेरी दोश्रो स्टाटस लेखे । जसमा उनले धरान नगर विकासका लागि श्रमदान नगरे परिक्षामा उत्तिर्ण नहुने नियम लागू गरिनेछ भनेका थिए । यसपछि भने उनी बढी आलोचित बनेका छन् । साथै उनले यो स्टाटसमा आफ्नो बचाउ गर्दै श्रमदानको अर्थ बेस्सरी काममा जोत्न नखोजेको र विद्यार्थीको सहभागिता प्रतिकात्मक हुने पनि खुलाएका थिए ।

उनको यो अभिव्क्तिमा धम्कीपूर्ण र अराजक भाषा प्रयोग भएको भन्दै सामाजिक सञ्जालमा चौतर्फि विरोध भएको छ । हर्कलाई उनका आफ्नै समर्थकहरुले पनि यस्ता किसिमका धम्की दिएर बालबालिकामाथि मानसिक तनाव नदिन समेत सुझाव दिएका छन् । तर उनले भने आलोचना गर्ने व्यक्तिहरु नै कसैबाट परिचालित भएको भन्ने अभिव्यक्ति दिएका छन् । उसो त मेयर साम्पाङ गत साउनमा काठमाडौं आएर फर्केदेखि नै विवादित बनेका थिए ।

काठमाडौं बासीलाई यहाँका जनप्रतिनिधीलाई फोहोरमा राखेको भन्दै काठमाडौंको फोहोरले आफू बिरामी नै परेको उनले बताएका थिए । काठमाडौंको विषयमा लगातार स्टाटस लेखेका हर्कले आफूले स्टाटस लेखेकै कारण काठमाडौंको फोहोर उठेको पनि भन्न पछि परेनन् ।  उनले काठमाडौंको विषयमा बोल्नु जायज नभएको सर्वसाधारणहरु बताउँछन् । 

धरानको विषयमा अरुले बोल्दा मन नपराउने हर्कले काठमाडौंको विषयमा भने निकै चासो राखेका छन् । उनले काठमाडौंको विषयलाइृ लिएर टाउको दुखाउन नपर्ने सर्वसाधारणहरुको भनाइ छ । साथै उनको व्यवहार हेर्दा पहिलेको भन्दा परिवर्तन भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको बुझाइ छ । धरान र काठमाडौं फरक भएकाले एक ठाउँमा राखेर हेर्न नहुने उनीहरुको भनाई छ । 

यता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको भने फेरी नयाँ विषयले चर्चा चुलिएको छ । उनी भूमिगत पार्किङ खाली गर्न सरकारी बिल्डिङसम्म पुगेका छन् । मेयर बालेन्द्र शाह र महानगरीय प्रहरीसहितको टोलिले भदौ ६ गते बानेश्वर चोकस्थित बानेश्वर कम्प्लेक्समा पुगेर अण्डरग्राउण्ड पार्किङका पसलहरु हटाउन सुरु गरेको थियोे । महानगरले नक्सामा बेसमेण्ट पार्किङ उल्लेख गरि नक्सा पास भएका भवनहरुले भाडा लगाएर पसलहरु सञ्चालन भइरहेका कम्प्लेक्सहरुबाट पसल हटाउन थालेको हो ।

पार्किङको लागि प्रयोजनमा आउने भनेर नक्सा पास गरेका उक्त भवनहरुबाट पसल हटाउन ३५ दिनअघि महानगरले एक सार्वजनिक सुचना निकालेको थियो । सुचनामार्फन नक्सामा जुन प्रयोजनका लागि बनाइएको संरचना हो,त्यही बमोजिम प्रयोग नगरिएको भएमा हटाउनुपर्ने भनिएको थियो । तर महानगरले दिएको ३५ दिनको समयभित्र कम्प्लेक्स तथा भवनका सम्बन्धित व्यक्तिले चासो नदेखाएपछि महानगरले स्थलगत अनुगमन सुरु गर्यो ।

अनुगमनका क्रममा बानेश्वर कम्प्लेक्सको अण्डरग्राउण्ड छिर्ने ठाउँमै सटर बनाएर अण्डरग्राउण्मा पसल सञ्चालन गर्न दिएको पाएपछि पसल हटाउने काम त्यहीँबाट सुरु भएको थियो । भदौ ६ गते मेयर बालेन्द्र शाह पुगेर हटाएपछि भदौ ७ गतेबाट अण्डरग्राउण्ड पार्किङका लागि सहज हुने प्रकृति बनाइँदै छ । बानेश्वर कम्प्लेक्सबाट सुरु भएको यो काम विस्तारै पुरै महानगरभित्र थालिएको छ ।

बिहीबार नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेत र काठमाडौं महानगरका मेयर बालेन शाहबीच धम्कीपूर्ण सवाल जवाफ नै भयो । सामाजिक सञ्जाल मार्फत एकले अर्कोलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै सवाल जवाफ गरेका हुन् । बालेनले अल्फाविटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएपछि बस्नेतले झोक्किएर बालेनलाई दुई सवाल सोधेका छन् ।

यी सवालमा बस्नेतले अल्फाबिटाका सञ्चालन द्विराज शर्मा सिवकोटीलाई आफ्नो पार्टीको मान्छे भन्दै इख साध्न डोजर चलाएको आसय व्यक्त गरेका छन् । शर्मा र बस्नेतले सँगै खिचेको फोटो राखेर उनले शर्मा एमाले कार्यकर्ता भएको देखाउन खोजेका छन् । त्यति मात्र होइन बस्नेतले  अवैध संरचना भत्काउनुलाई मेयरको सन्कि र लहडी आतंक भनेका छन् । लगत्तै मेयर शाहले पनि शर्मासँगको आफ्नै फोटो राखेर बस्नेतको जवाफ फर्काएका छन् । जवाफ मात्र होइन उनले घुमाउरो ढंगले बस्नेतको घरको पनि नक्सा पास छ कि छैन भनेर सोध्दै नक्सा पास नभए भत्काइदिने आशयमा जवाफ दिएका छन् ।

बालेनको जवाफमा बस्नेत अर्को स्टाटस लेख्छन्, दुईचार सय फेसबुके फ्यान भएर नमात्तिन भन्दै घुमाउरो ढंगले रविन्द्र मिश्रको हालत हुने धम्की दिएका छन् ।दुई नेताबीच अल्फविटा कम्प्लेक्का मालिक द्विराज शर्मा सिवकोटीका कारण सवाल जवाफ देखिन्छ । बस्नेतले शर्मा एमाले कार्यकर्ता भएको दावी गर्छन् भने सँगै फोटो खिच्दैमा कोही कुनै पार्टीको नेता कार्यकर्ता हुँदैन, त्यस्तो ठान्ने हो भने उनी म सँग पनि फोटो खिचेका छन्, उनी स्वतन्त्र हुन् भन्ने सन्देश बालेनले दिन खोजेका छन् ।

अवैध र अनधिकृत रुपमा प्रयोग भइरहेका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ । शनिबार वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काइएको छ । सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा भत्काउन सुरु गरिएको छ । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको छ ।

देशभरका मानिसको जमघट हुने महानगरपालिकामा पार्किङ मूख्य समस्या बनेको छ । बानेश्वर कम्प्लेक्स अगाडि पनि मोटरसाइकलहरु अव्यवस्थित रुपमा पार्किङ भइरहेको देखिन्छ । तर घरधनीहरुले पार्किङ गर्ने भनेर नक्सा पास गरेको भवनमा अन्य प्रयोजनको लागि प्रयोग गर्दा बाहिर पार्किङलाई थप अव्यवस्थित बनाइदिएको छ । व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गर्दा पार्किङ बनाएपछि आफ्नो कम्प्लेक्सहरुमा आएका ग्राहकहरुको जिम्मा पनि उनीहरुले नै लिनुपर्ने हुन्छ ।

तर त्यति ठूलो कम्प्लेक्समा सेवा लिन आएका सबै ग्राहकहरुले बाहिरी पार्किङ गर्दा व्यवस्थापन पनि कठिन हुन्छ । महानगरबाट छुट सहित लिएर नक्सा पास भएका कम्प्लेक्सले नक्सामा उल्लेखित प्रयोजन अनुरुप प्रयोग गर्नुपर्ने महानगरको भनाइ छ । काठमाडौं महानगरपालिकाभित्र अधिकांश सपिङ कम्प्लेक्सहरुमा अण्डरग्राउण्ड पार्किङ नभएको देखिन्छ । कतिपय कम्प्लेक्सले पार्किङका लागि बनाइएको संरचनाभित्र भर्याङ बनाएर पसलहरु सञ्चालन गरिरहेका छन् ।

महानगर भित्रका मल तथा कम्प्लेक्सहरुमा पार्किङहरु आफ्नो व्यवसाय सञ्चालनका लागि व्यवसायीले नै प्रयोग गर्न पाउँछन् । त्यसरी बनेका पार्किङहरु सिमित मूल्य लिएर अन्य सर्वसाधारणलाई प्रयोग गर्न दिन पाउने अधिकार पनि व्यवसायीलाई हुने महानगरको भनाइ छ । महानगरभित्र रहेका सपिङ मल र कम्प्लेक्सहरुमा नक्सामा पास भएर पार्किङको व्यवस्था भएको भएपनि सर्वसाधारणहरुले आफूलाई यो सम्बन्धमा थाहा नभएको बताउँछन् ।

तर पार्किङ सञ्चालन गर्नुको सट्टा पसलहरुकै लागि भाडामा दिने गरेको बुझेपछि भने यस्तो काम नराम्रो भएको सर्वसाधारणहरु बताउँछन् । साथै अहिलेको कदम राम्रो भएको उनीहरुको बुझाइ छ । जुन कामको लागि अनुमति लिएर बनाइएको हो त्यही कामका लागि प्रयोग हुनुपर्ने सर्वसाधारणहरुको भनाई छ । यसबाट बाहिरको पार्किङ व्यवास्थपन राम्रो हुने अधिकांश सहरवासीहरु बताउँछन् ।

Logo