उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।
आईतवार निर्वाचन अधिकृतको कार्यलयमा पुगेर मन्त्री भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उम्मेदवारी दर्ता गराउन उनी नेवारी झाँकीसहित समर्थकहरूको भिडमा निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् ।
उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले अबको निर्वाचनले संविधानको कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताइन् । उनले अबको आफ्नो एजेण्डा संविधानको कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने साथै आर्थिक, सामाजिक विकास र रोजगारी सिर्जना गर्नु रहेको बताइन् ।
उनले भनिन्, ‘संविधानको कार्यान्वयन र संस्थागत गर्ने प्रक्रिया हो । लोकतन्त्रलाई बलियो बनाउने प्रक्रिया हो । यो क्षेत्र मैले २ पटक जितेको क्षेत्र हो । वि.सं. २०६४ को पहिलो संविधान सभा र २०७४ को आम निर्वाचन पनि जितेको छु । त्यसैले यही क्षेत्रमा जनताको, व्यवस्थाको सेवा गर्ने नयाँ प्रण गरेर उम्मेदवारी दर्ता गरेको छु ।’
स्वतन्त्रहरुप्रति इंगित गर्दै मन्त्री भुसालले नेपालको संविधानले बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने कुरा सुनिश्चित गरेको उल्लेख गर्दै कुनै एक जनाको हिरोइजमले नेपालमा केही नहुने पनि बताइन् ।
‘लामो समय राजनीतिक आन्दोलनले गरेको उपलब्धिको जगमा उहाँहरु कडा हुनुभएको छ । त्यसलाई अन्यथा लिनुहुँदैन हाम्रो संविधानले बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने कुरा सुनिश्चित गरेको छ ।’ उनले भनिन्, ‘एउटा व्यक्तिको हिरोइजमले हामीकहाँ केही पनि हुँदैन । अबको हाम्रो एजेण्डा संविधानको कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने, आर्थिक र सामाजिक विकास हो ।’





























प्रतिक्रिया