‘प्रकृति संरक्षणमा ध्यान दिन नसके जनजीवन खतरापूर्ण बन्ने अवस्था छ’ -प्रधानमन्त्री देउवा

‘प्रकृति संरक्षणमा ध्यान दिन नसके जनजीवन खतरापूर्ण बन्ने अवस्था छ’ -प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरापूर्ण बन्ने अवस्था रहेको बताएका छन् । 

बिहीवार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले प्राकृतिक श्रोत, साधनको संरक्षण, संवद्र्धन वातावरण अनुरुप दिगो रुपमा अघि बढाउन जरुरी रहेको पनि बताए । उनले अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरुसँगको सहकार्य र समन्वय बिस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान दिन आवश्यक रहेको बताए । 

प्रधानमन्त्री देउवाले प्रकृति संरक्षण र जैविक विविधताको माध्यमबाट नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको पनि उल्लेख गरे । उनले प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गरी आर्थिक अवस्थालाई सहयोग पु-याउन सकिने बताए । 

उनले भने, ‘नेपाल प्राकृतिक श्रोत, सम्पदाले भरिपूर्ण मुलुक हो । प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके यसबाट पर्यावरण,जैविक असन्तुलन भइ हाम्रो जनजीवन खतरापूर्ण बन्ने अवस्था छ । हाम्रो पहलमा नेपालको संविधानले स्वच्छ, वातावरणको हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । यसलाई प्राकृतिक श्रोत, साधनको संरक्षण, संवद्र्धन वातावरण अनुरुप दिगो रुपमा अघि बढाउन जरुरी छ । आगामी दिनमा कोषले प्राकृतिक संरक्षणको क्षेत्रमा थप प्रतिवद्धताका साथ काम गर्ने अपेक्षा लिएको छु । अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरुसँगको सहकार्य र समन्वय बिस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान पु-याउने विश्वास लिएको छु । प्रकृतिको गहनाका रुपमा रहेका विविध प्रजातीका वन्यजन्तुहरुको उपस्थितिले प्रकृति संरक्षण र जैविक विविधताको अध्ययनमा नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना छ । प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गरी आर्थिक अवस्थालाई सहयोग पु-याउन सकिन्छ ।’ 

उनले अगाडि थपे, ‘नेपालले विश्वकै दुर्लभ वन्यजन्तुको रुपमा लिइने बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको छ । १० वर्षको छोटो अवधिमा नै नेपालले बाघको संरक्षणमा र वन्यजन्तुको संरक्षणमा अन्तर्राष्ट्रिय समुदाय समक्ष सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ । बाघको संख्या बढेको सन्दर्भमा हामीले यसलाई पर्यटनसँग जोडेर मुलुकको अर्थतन्त्रमा धेरै टेवा पु-याउने गरी अघि बढ्न आवश्यक छ । वन्यजन्तुको संख्या बढ्दै गर्दा मानिसको क्षति नहुने गरी काम गर्न सबैलाई अनुरोध गर्दछु । मानव वन्यजन्तु द्वन्द्व हुने ठाउँमा संरक्षित क्षेत्र कार्यालय, वन्य जीवजन्तु कार्यालयको सहकार्य र समन्वयमा समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिन कोषले महत्वपूर्ण योगदान दिएको छ । घाईते वन्यजन्तुहरु पाए तत्काल उपचार गर्न आवश्यक छ । साथै वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री देउवाले नेपाली संरक्षित क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक हुने भएकाले यस्ता क्षेत्रको व्यवस्थापन गरी आगामी दिनमा सबै संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र पर्यटीकीय सेवाहरुको स्तरोन्नतीमा जोड दिन आवश्यक रहेको उल्लेख गरे । 

Logo