नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा रहेका छन् ।
सुदूरपश्चिमका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधनका लागि खटिएका महर एक साता यता डडेलधुरामै रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकोमा नेता महर गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न गृह जिल्लामा खटिएका हुन् ।
मंगलबार बिहान डडेलधुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले अहिले कांग्रेसको प्रतिस्पर्धी नै कोही नदेखेको प्रतिक्रिया दिए । ‘हुन त प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उम्मेदवारी दिएका होलान् । अहिलेको ठूलो दल नेकपा एमालेले उम्मेदवारी फिर्ता गरेर प्रधानमन्त्रीज्यूलाई मौन समर्थन जस्तै गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि देउवालाई समर्थन गरेर भोट मागिरहेका छन् । अन्यलाई न उहाँ (देउवा)ले प्रतिस्पर्धी ठान्नुभएको छ। न त नेपाली कांग्रेसले नै ठानेको छ,’ उनले भने।
केन्द्रीय सदस्य महरले अहिले डडेलधुराको निर्वाचन गोलकिपर बीनाको फुटबल खेल जस्तै भएको बताए । ‘गोलकिपर नै छैन भने जाली च्यातिने सम्भावना बढी हुन्छ । डडेलधुराको निर्वाचन पनि नेपाली कांग्रेसका लागि प्रतिस्पर्धी बीनाको भइरहेको छ,’ उनले भने । संविधानको कार्यान्वयन र संविधानको रक्षाका लागि देउवा जित नै अहिलेको आवश्यकता भएको महरले बताए ।
‘कांग्रेसले मुलुक र जनताप्रति कहिले घात गर्दैन । २०७४ सालमा कम्युनिस्टहरूलाई दुई तिहाई मत दिएर ओलीको नेतृत्वमा दुई तिहाइको सरकार बनेकै हो । उहाँले न त सरकार जोगाउन सक्नु भयो न त पार्टी नै । उल्टै पटक–पटक संसदमाथि प्रहार गर्नुभयो,’ उनले भने । ओलीका कारण अन्योलतातर्फ धकेलिएको मुलुकलाई कांग्रेसले नेतृत्व गएर एउटा गतिमा ल्याएर शान्तिपूर्ण रुपमा निर्वाचनको वातावरण बनेको महरको भनाइ छ ।
यी सबै कुराको मूल्यांङ्कन गर्दै अग्रगामी वाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न उनले जनतालाई आग्रह गरेका छन् । कांग्रेसले नेतृत्व गरिसकेपछि बिग्रिएको विदेश सम्बन्ध तथा परराष्ट्र नीतिमा समेत सुधार आएको महरले प्रष्ट पारे ।मंसिर ४ को निर्वाचनका लागि एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा देउवासँगै कांग्रेस बीपीका कर्णबहादुर मल्ल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्र सागर ढकाल, विक्रमबहादुर शाही, कर्णसिंह रावल ‘मम्याल बाजे’ र लालबहादुर कठायत उमेदवार छन् ।





























प्रतिक्रिया