नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको बताएका छन् ।
बुधवार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिस्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताएका हुन् ।
उनले भने– ‘यो सत्ताका बिरुद्ध, संसदीय व्यवस्थाका बिरुद्ध र यी दलहरुले जुन विचारधारका कुरा गर्छन्, त्यसका बिरुद्ध संघर्ष गर्दै नेपालमा नयाँ जनवादी राज्यसत्ता हुँदै वैज्ञानिक समाजवाद ल्याउन जरुरी छ । त्यहाँ नपुगिकन समस्याको हल हुनेवाला छैन । त्यसकारणले अर्को कुरा के हो भने अब हामीले नयाँ क्रान्तिको तयारी गर्नुपर्छ । तर नयाँ क्रान्तिको तयारी गर्नको निम्ति सत्ता क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध भएर जान जरुरी छ । संगठनलाई बलियो बनाउने, क्रान्तिकारीहरु एकतावद्ध हुने, यो पुरानो संसदीय व्यवस्थाका बिरुद्ध र नयाँ जनवादी, वैज्ञानिक समाजवादी संसदीय व्यवस्थाको स्थापनाको निम्ति दृढतापूर्वक अगाडी बढ्न जरुरी छ । र हाम्रो यो बहिस्कार आन्दोलन, हाम्रो यो अवज्ञा आन्दोलन त्यही दिशामा एउटा महत्वपूर्ण कदम हो । हाम्रो यो वहिष्कारको गन्तव्य के हो भन्दाखेरी नयाँ क्रान्तिको तयारीको विषयमा अगाडी बढ्ने हो ।’
महासचिव वैद्यले राज्यका तीन वटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको पनि बताए । उनले भने– ‘तीनवटै अंग असफल भइसकेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा झगडै झगडा । शक्ति पृथकीकरणको सिद्धान्त भनेर संसदीय व्यवस्थामा भनियो तर के भने शक्ति संघर्षको सिद्धान्त हो । आपसमा लडेको छ लडेको छ । गर्नु केही होइन । त्यसकारण कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सब असफल छ ।’
उनले निर्वाचन आयोगले आफूहरुलाई दमन गरिरहेको बताए । आफूहरु निर्वाचनको बहिष्कारको पक्षमा रहेको भन्दै आचारसंहीता नलाग्ने जिकिर गरे । महासचिव वैद्यले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहालमाथि आक्रोश पोखे ।
उनले भने– ‘ठाउँ ठाउँ पूरै दमन गरिराखेको छ । यो कारण के हो ? निर्वाचन आयोग के हो ? त्यसको आचारसंहीता के हो ? निर्वाचन आयोग को हो ? आचारसंहीता हामीलाई किन लाग्ने ? हामी बहिस्कारवादीलाई किन लाग्ने त्यो आचारसंहीता ? भन्छन् लोकतन्त्र , शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दाखेरी माइक भाँचिदिने, पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेर राख्ने । यो के तरिका हो ? यही हो लोकतन्त्र । प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको बिरुद्ध । यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका बिरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरुले नै गरिरहनुभएको छ । यो के लोकतन्त्र हो ? लोकतन्त्र फाँसिवादतिर गइराखेको छ ।’





























प्रतिक्रिया