प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सोमवार नेपाल नगरपालिका संघको ८औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले जनताको अपेक्षा र आवश्यक्तालाई उचित सम्बोधन हुनेगरी स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दयित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्ने बताए ।
उनले भने- ‘स्थानीय तहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक छ । स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने हो, नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्छ । जनताको काम बिना झन्झट, छिटो, छरितो बिना मोर मुलाइजा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभुति गराउन सबै नगरपालिका प्रतिवद्ध हुन आवश्यक छ । जनताले लिने सबै सेवाहरु बिना झन्झट पूरा गर्ने प्रवन्ध मिलाउन आग्रह गर्छु । मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरु, योजनावद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलैसा, हरियाली क्षेत्र र सरसफाई आदिको समुचित प्रवन्ध गर्न आवश्यक छ । एकीकृत तवरले पूर्वाधारलाई विकास गर्न आवश्यक छ ।’
प्रधानमन्त्री देउवाले वातावरणमैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्वन गर्न सुझाव दिए । उनले शहरहरुलाई आर्थिक विकासको हबका रुपमा समेत विकास गर्ने कार्यमा सहायेगी भुमिका निर्वाह गर्न नगरपालिका संघलाई आग्रह गरे । मुलुकभित्रको सबै नगरपालिकालाई सुनियोजित, सुव्यवस्थित तरिकाले आफ्नो मौलिक पहिचान र विशिष्टतासहित नमूना नगरपालिका बनाउन आवश्यक रहेको बताए ।





























प्रतिक्रिया