काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजबाट स्मार्ट मिटर जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा १ लाख स्मार्ट मिटर जडान गर्ने योजनाका साथ आजबाट काम सुरु भएको हो ।
सिंगल फेजका मिटरहरुलाई स्मार्ट मिटर बनाउने काम आजबाट सुरु भएको र पहिलो चरणमा १ लाख मिटर जडान गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उपत्यकाका तीन वटै जिल्लामा कम्तिमा ५ लाख स्मार्ट मिटर आवश्यक पर्ने उल्लेख गर्दै उनले पहिलो चरणमा १ लाख र दोस्रो चरणमा उपत्यका लगायत देशभरी नै स्मार्ट मिटर जडानको काम सुरु गरिने बताए ।
स्मार्ट मिटर जडान भएपछि बिहान, दिउँसो र बेलुकीको समयमा फरक महशुल निर्धारण गर्न सकिने, घरघरमा मिटर रिडरहरु जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । साथै, विद्युत चुहावट कम हुने र महामारीको समयमा पनि अनलाइन मार्फत विल भूक्तानी गर्न सकिने छ ।
त्यस्तै स्मार्ट मिटर जडान भएपछि ग्राहकहरुले आफ्नो सुविधा अनुसार ‘प्रिपेड र पोस्टपेड’ बनाउन पाउने अप्सन समेत हुनेछ छ । प्राधिकरणले स्मार्ट मिटर जडान थालेर उदाहरणीय काम गरेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बताए । सबैले आफ्नो क्षेत्रबाट इमानदार भएर काम गर्न सके परिवर्तन सम्भव हुने उदाहरण प्राधिकरणले पेश गरेको उनको भनाइ छ ।
मन्त्री पुनले नेपालको उत्पादन क्षमताअनुसारको विद्युत उत्पादन गरी भारत, बंगलादेश लगायतका छिमेकी देशहरुमा स्वच्छ उर्जा वितरण गरी यस क्षेत्रकै ‘ब्याट्रि स्टोरेज’ का रुपमा काम गर्ने योजनाका साथ काम भइरहेको बताए । अहिले नेपालले रातिको समयमा भारतमा ४० देखि ८० मेगावाट विद्युत निर्यात गरिरहेको उनको भनाइ छ ।
त्यस्तैगरी प्राधिकरणले पछिल्लो समय विद्युत महशुल दर केही घटाएको छ । प्राधिकरण पछिल्लो समय दर्जनौ सरकारी संस्थानहरुमा धेरै नाफा कमाउने र गुणस्तरिय सेवा प्रदान गर्ने संस्थाका रुपमा अग्रस्थानमा रहँदै आएको छ ।





























प्रतिक्रिया