काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला आफूहरुको टाउको गनेर पार्टी विभाजनको दिशामा नजान सुझाव दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै सांसदहरुले शीर्ष नेताहरूलाई त्यस्तो सुझाव दिएका हुन् । उनीहरुले पार्टी एकतालाई सुदृढ पार्न दबाब दिन भन्दै हस्ताक्षर समेत गरेका छन् ।
संघीय संसद अन्र्तगतको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेकपाका ६१ जना सांसदहरूले हस्ताक्षर गरेका हुन् । साथै, उनीहरूले शीर्ष नेताहरूलाई पार्टीको महाधिवेशनको तयारीमा जुट्न आग्रह समेत गरेका छन् ।
सांसद कृष्णप्रसाद दाहालले अहिले शीर्ष नेताहरूले सांसदहरूका टाउका गन्न थालेको बताए । शीर्ष नेताहरुले आफ्ना टाउका गनेर पार्टी फुटाउने सपना देख्न नपाउन भनेर आजको कार्यक्रम गरिएको उनको भनाइ छ । उनले भने–‘आफ्ना कुरा माथि पार्न नेताहरूले हाम्रा टाउका गनेका छन् । हाम्रो संख्याले पार्टी फुट्छ भने त्यसमा बल नपुगोस् । आजको कार्यक्रमबाट नेताहरूले हाम्रा टाउका नगनून् भन्ने सन्देश दिन खोजेको हौँ ।’ उनले पहिले कुनै पनि कित्तामा आफूहरु भएपनि अब सबैको एउटै मत हुने दाबी गर्दै थपे–‘पहिले को कुन कित्तामा थियौँ सबैलाई थाहा छ । तर अब पार्टी एकताका लागि सबैको एउटै मत हुनुपर्छ ।’
त्यस्तै सांसद सुरेशकुमार राईले पार्टीभित्र देखिएको अन्तरविरोधले पार्टी एकतामा अन्योलता देखिएको बताए । उनले भने–‘अहिले पार्टीमा देखिएको अन्तरविरोधले अन्यौल बढेको छ । पार्टी विग्रहमा जाने खतरा पनि छ । शीर्ष तहमा देखिएको अन्तरविरोधलाई सहयोग गर्न सकिन्न । हामी एकताको महाधिवेशनसम्म सामूहिक पहलमा एकतावद्ध रहन्छौं ।’
सांसदको टाउको गनेर पार्टी विभाजनको सपना देख्ने गल्ती नगर्न उनको शीर्ष नेतालाई सुझाव छ । उनले भने–‘हामी सांसदको टाउको गनेर कसैले पार्टी विभाजनको सपना देखेको भए गणनाको गल्ती नगर्नुस् ।’
सांसद रामकुमारी झाँक्रीले अहिले शीर्ष नेताहरूको गतिविधि हेर्दा नयाँ पुस्ताले सुदृढ नेकपा नपाउने बताइन् । सांसद झाँक्रीले भनिन्–‘अहिले नेताहरूले जस्ता गतिविधि गरिरहनु भएको छ, त्यसले उहाँहरू हामीलाई सुदृढ पार्टी दिनुहुन्छ कि खरानीमात्र दिनुहुन्छ भन्ने शंका बढेको छ ।’ अब शीर्ष नेताहरुले एकअर्काको विरोध गर्नुभन्दा पुस्ता हस्तान्तरणमा ध्यानदिनुपर्नेमा उनको जोड छ । साथै, उनले आफूहरु पार्टी एकताका पक्षमा भएकाले सानो पार्टी चोइटाएर लान सकिन्छ भन्ने कसैले कल्पना नगर्न समेत आग्रह गरिन ।
पार्टी एकतालाई मजबुत बनाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक रुपमा हस्ताक्षर गरिएको दाबी गरेका छन् ।





























प्रतिक्रिया