प्रतिनिधिसभाका निर्वाचित सांसदहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले सपथ ग्रहण गराउने भएका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानुन र संवैधानिक व्यवस्था अनुसार नेता जबराले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले नव निर्वाचित सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताएका हुन् । त्यसका लागि पुस ७ गते बिहीबार अपरान्ह १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सपथग्रहण कार्यक्रम तय गरिएको छ ।
प्रवक्ता पाण्डेका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई सपथ ग्रहण गराएपछि मात्रै उनले अन्य सांसदहरुलाई सपथ गराउनुपर्ने हुन्छ । त्यसका लागि पुस ६ गते बुधबारको कार्यक्रम तय गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए ।
उनले भने- ‘उहाँ (जबरा)को उमेर चाँही जन्म मिति १९९८ मंसीर २४ गतेको छ । त्यो डेट चाँही हामीले नागरिकताको आधारमा पहिचान गरेका हौं । त्यो हिसावले उहाँ ज्येष्ठ सदस्य देखिनु भएको छ । उहाँबाहेक विगतमा नागरिकताको प्रमाणको आधारमा हेर्दाखेरी मतदाताको विवरण हेर्दाखेरी माननीय महिन्द्रराय यादवको रहेको तर उहाँ अघिल्लो पटक पनि सपथग्रहण गराउने बेलामा उपस्थित नहुनु भएकाले उहाँ उपस्थित हुने अवस्था नदेखिँदाखेरी अहिले चाँही माननीय पशुपति शेमशेर जबराले सपथ गराउने गरी हामीले कार्यक्रम तय गरेका छौं ।’
संसद सचिवालयले मातृभाषामा सपथ लिने व्यवस्था पनि गरेको छ । मातृ भाषामा सपथ लिन चाहने सांसदहरुलाई सपथ ग्रहणको ढाँचा विवरण अनुसार त्यसलाई मातृभाषामा उल्था गर्न पत्राचार गरिएको छ । सपथ ग्रहण गराउनु ३ दिन अघि नै सो उल्था गरिएको सपथग्रहणको कपी संसद सचिवालयमा सांसदहरुले पेश गर्नुपर्ने हुन्छ ।
प्रवक्ता पाण्डेले अहिले मातृभाषामा सपथ लिन चाहने सांसदहरुको विवरण संकलनको काम भईरहेको बताए ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरु निर्वाचित भएका छन् । उनीहरुलाई सपथ ग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि सचिवालयले जनाएको छ ।





























प्रतिक्रिया