कायममुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन,न्याय निरुपण गर्ने निकायबीचको समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताएका छन् ।
शुक्रवार काठमाडौंमा भएको सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले अनुसन्धान अभियोजन,न्याय निरुपण गर्ने निकायहरुको क्षमता प्रभावकारिता तथा त्यस्ता निकायहरुबीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताएका हुन् । उनले फैजदारी न्याय प्रणालीलाई विश्वनीय बनाउन यससँग आवद्ध संस्था वा निकायहरुको सक्षता,निष्पक्षता,व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहेको बताए ।
कामु प्रधानन्यायाधीश कार्कीले नेपालको फैजदारी कानूनी राज्य बनाउन फैजदारी न्याय प्रशासनको मेरुदण्डको रुपमा रहने सरकारी वकीलहरुको कुशल क्षमता, व्यवसायिकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फैजदारी न्यायप्रणालीले गतिशिलता प्राप्त गर्नसक्ने बताए । उनले संवैधानिक कानूनी एवम संरचनागत व्यवस्थामा पछिल्लो समय समसामयिक परिवर्तनहरु हुँदै आएको बताए ।
उनले भने,‘अनुसन्धान अभियोजन,न्याय निरुपण गर्ने निकाय सक्षमता प्रभावकारीता तथा ती निकायबीचको कार्यगत सम्बन्ध समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन सकिँदैन भन्ने लाग्छ । कानून व्यवसायी रहँदादेखि अहिलेसम्मको अनुभव पनि यही रहेको छ । फौजदारी न्यायका आयामहरुमा क्रमसः बिस्तार हुँदै गएको छ । धेरै नविनतम विधिशास्त्रिय मान्यताहरु विकसित हुँदै गएका छन् । फौजदारी न्यायका परम्परागत मान्यता अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना छैन । अनुसन्धान र अभियोजनका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित स्वीकृत र अवलम्वित मानक तथा मापदण्डका विषयमा समेत त्यतिकै ध्यान दिन जरुरी हुन्छ । पीडितमैत्री एवम क्षतिपूर्ति सहितको न्याय लगायतका अवधारणाहरु फौजदारी न्याय प्रणालीका अन्तरनिहीत पक्षमा स्थापित हुँदै गएका छन् । यसले हाम्रो अनुसन्धान तथा अभियोजन गर्ने निकायहरुमा पनि सोही अनुरुपको सोच दृष्टिकोण मान्यता र क्षमता अपेक्षा गर्दछ ।’
कामु प्रधानन्यायधीश कार्कीले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयको लागि अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक रहेको बताए । उनले अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्तम्भहरु भएको भन्दै यसको सुदृढीकरण बिना फौजदारी न्याय सबल र प्रभावकारी बन्न नसक्ने बताए । फैजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतिहरु रहेको बताए ।
कामु प्रधानन्यायाधीश कार्कीले अपराध अनुसन्धानमा फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु हुन थालेको भन्दै त्यस प्रकारका आशंका र टिप्पणीहरुलाई इन्कार गर्न नहुने बताए ।
उनले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान जान जरुरी रहेको बताए । अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान दिँदा मात्रै फैजदारी कानूनको जग बलियो हुने उनले दाबी गरे ।





























प्रतिक्रिया