श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन् ।
सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुँवरले यस्तो बताएका हुन् । मन्त्रालयको आफ्नो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्दै उनले नेपालमा सबैभन्दा चुनौतिको विषय स्वदेशमा नै रोजगारी सिर्जना गर्नेकुरा रहेको बताए । उनले अहिले देश वैदेशिक रोजगार र रेमिट्यान्समा रमाएको भएपनि यसबाट दिगो खुशी र समृद्धि नमिल्ने बताए ।
मन्त्री कुँवरले पुनः एकीकरणको कार्यक्रमबाट पनि रोजगारी सिर्जना गर्नसकिने र सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदा पनि नेपालमा रोजगारीको मात्रा सिर्जना हुने बताए । उनले नेपालमा रोजगारी सिर्जना भएका ठाउँमा नेपाली श्रमीकहरु नहुनु दुःखद् भएको बताए ।
उनले भने- ‘ रोजगारी सिर्जना भएका ठाउँमा हाम्रा श्रमीकहरु छैनन् यो दुःखको कुरा हो । हाम्रो देशमा कसरी रोजगारी सिर्जना गर्ने भन्ने बारेमा सोच्नुपर्छ । यो मन्त्रालय अहिले सकारात्मक ढंगले अघि बढेको छ । अहिले जुन बेला पनि चर्चाको विषय बनेको छ । हामी जस्ता सोझासाझा मानिसलाई निर्वाचन गाह्रो छ, यो यसपालि मैले सिकेको कुरा हो । त्यसैले देशमा राजनीतिक उत्ताचढाव आइरहन्छ । अहिले नयाँ सरकार कमरेड प्रचण्डको नेतृत्वमा बन्दैछ । यसलाई स्वभाविक ढंगले लिनुपर्छ ।’
वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या दिनप्रतिदिन बढीरहेकाले उनीहरुको समस्या समाधान गर्न हिच्किचाहट नगर्न आग्रह गरे । उनले आफू मन्त्रालयबाट बिदा भएको भएपनि सिंहदरबार र संसदबाट टाढा नरहने बताए । मन्त्री क्वार्टर पनि आफूले छोडिसकेको जानकारी उनले गराए ।





























प्रतिक्रिया