प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सातदलीय गठबन्धनमा मन्त्रालय बाँडफाँट टुंग्याउन बाँकी छ । हाल ८ सदस्यीय मन्त्रिपरिषद्मा अब १७ जना थप्ने संवैधानिक सुविधा छ । दाहाल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड–ओलीबीच मोटामोटी सहमति भइसकेको बताइन्छ । दुई नेताको निष्कर्षपछि गठबन्धनका शीर्ष नेता बसेर टुंग्याइने एक नेताले बताए ।
आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।





























प्रतिक्रिया