प्रतिनिधिसभा सभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

प्रतिनिधिसभा सभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

केन्द्रबिन्दु
0
Shares

माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद् सचिवालयले मङ्गलबार कार्यतालिका सार्वजनिक गर्दैछ ।

निर्वाचनका लागि आवश्यक तयारी भइरहेको सचिवालयले जनाएको छ । गत पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराले सभामुखको निर्वाचन माघ ५ गतेका लागि तोकेका थिए । सोही अनुसार सङ्घीय संसद् सचिवालयले सभामुख चयनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।

प्रस्तावित कार्यतालिका अनुसार मनोनयन दर्ता अर्थात् प्रस्तावको सूचना बुधबारका लागि तय गरिएको छ । त्यस्तै, सोही दिन नै उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि प्रकाशन गरिने भएको छ । सभामुखका आकांक्षीले प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराउनुपर्नेछ । माघ ५ गतेको प्रतिनिधिसभा बैठकमा उम्मेदवारको प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थनमा बोल्ने कार्यक्रम हुन्छ ।

सभामुखको निर्वाचन हरेक सदस्यको मत विभाजनबाट हुन्छ । पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् । बहुमतप्राप्त निर्वाचित सभामुखले पदभार ग्रहणअगाडि राष्ट्रपतिसमक्ष शपथग्रहण गर्ने व्यवस्था छ ।

सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्ने छ । सभाध्यक्षले प्रस्तावित सभामुखको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यसरी निर्णयार्थ प्रस्तुत गर्दा पहिला दर्ता भएकोलाई पहिला र पछि दर्ता भएकालाई क्रमशः प्रस्तुत गरिन्छ । पहिलो उम्मेदवारबारे निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएमा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्न नपर्ने कानुनी व्यवस्था छ । पहिलो उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

एक जनाको मात्र उम्मेदवारी परेमा निर्विरोध घोषणा हुने व्यवस्था छ । सभामा कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत उम्मेदवार सभामुख निर्वाचित हुन्छ संवैधानिक ब्यवस्था अनुसार संसद्को पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्नेछ । २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले ९ माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ ।

सभामुखको निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु सभामुखको उम्मेद्वार तय गर्न आन्तरिक छलफलमा केन्द्रित बनेका छन् । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने निश्चित जस्तै छ । सो निर्वाचनका लागि कांग्रेसले उम्मेदवार उठाउने वा नठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन ।

Logo