सभामुखको चर्चामा एमालेका देवराज घिमिरे, काे हुन् उनी ?

सभामुखको चर्चामा एमालेका देवराज घिमिरे, काे हुन् उनी ?

केन्द्रबिन्दु
0
Shares

सभामुख पदको निर्वाचन ५ माघमा हुँदैछ । निर्वाचनका लागि संघीय संसद् सचिवालयले मंगलबार कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनु पर्ने हुन्छ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख पद नेकपा एमालेले पाउने पक्का छ । तर, सभामुखको लागि नेताहरूले लबिङ सुरु गरे पनि पार्टीले निर्णय भने गरिसकेको छैन ।

पछिल्लो समय सभामुखमा एमालेका नेता देवराज घिमिरेको नाम चर्चामा आएको छ । एमाले संसदीय दलले घिमिरेलाई बुधबार नागरिकता र फोटो लिएर आउन आग्रह गरेसँगै उनको नाम पक्का भएको आंकलन गरिएको हो । घिमिरे गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गरेका थिए । 

२०५६ सालमा राष्ट्रिय सभाको सदस्य भएका नेता घिमिरे अहिले एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को इन्चार्जसमेत हुन्। २०१३ सालको जेठ १३ मा ताप्लेजुङको सिकैंचामा जन्मिएका घिमिरे २०२७-२०३० सालको झापा विद्रोहपछि अपील प्रसारणको लाइनबाट कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका थिए। २०३२ सालको को-अर्डिनेशन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भएर काम गरेका थिए। २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण भएर नेकपा एमाले बनेपछि २०४९ सालमा भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।  

१२ वर्ष भूमिगत राजनीति गरेका घिमिरे पार्टीलाई झापामा स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने शान्त र सरल स्वभावका नेता मानिन्छन्। पहिलोपटक प्रतिनिधिसभाको चुनाव जितेका उनले पहिलो यात्रामै सभामुखमा दाबी गरेका छन्। उमेरका हिसाबले पनि पाका नेता घिमिरेले पार्टीभित्रको अनुभवमा पनि आफू बलियो दाबेदार रहेको बताउँदै आएका छन्। 

Logo