राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले राजनीतिमा वसन्त ऋतु सुरुवात भएको बताएकी छन् ।
उपसभामुखको लागि पार्टीको तर्फबाट उम्मेदवार रहकी इन्दिरा रानामगरको प्रस्तावकको रुपमा प्रतिनिधिसभामा पहिलो सम्बोधन गर्दै उनले जाडो याम सकिएर वसन्त ऋतुमा पालुवा पलाए झैँ राजनीतिमा पनि वसन्त ऋतु सुरुवात भइसकेको बताएकी हुन् । प्रतिनिधिसभामा आज पहिलो सम्बोधन गर्दै सांसद गौतमले उक्त कुरा बताएकी हुन् ।
‘छोटा दिनहरु बिस्तारै लामा हुँदैछन्, जाडो र तुसारोले बोट बिरुवा उजाड छन्, तर छिट्टै वसन्त ऋतु सुरु भएर पालुवा पलाउँदैछ । यो रोस्टमबाट हेर्दा हाम्रो संसदमा भने वसन्त ऋतु सुरु भएर पालुवा पलाइरहेको देखेको छु, यो निकै सुन्दर दृष्य हो’, गौतमले भनिन् । उपसभामुखको लागि सिमान्तकृत समुदायका दुई जना महिलाको प्रतिष्पर्धा हुनुलाई गौतमले लोकतन्त्र सुदृढ बन्दै गएको रुपमा लिएको बताइन् ।
उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने पनि उल्लेख गरिन् । ‘मानननीय इन्दिरा राना मगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुनु हो’ उनले भनिन् । इन्दिरा राना मगर संसदमा नयाँ अनुहार भए पनि समाज रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको सांसद गौतमले बताइन् ।
सांसद रानामगरले कारागारमा हुने बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा काग गरेको भन्दै गौतमले भनिन्, ‘उहाँले समस्या औंल्याएर मात्र बस्नुभएन । समाधान खोज्न उहाँ सडकमा आउनुभयो ।’ सांसद रानामगरले पदको उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने पनि उनले बताइन् ।





























प्रतिक्रिया