रास्वपाले रविलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरुलाई टाउको दुखाई किन ? -ओली

रास्वपाले रविलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरुलाई टाउको दुखाई किन ? -ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने बताएका छन् । 

विराटनगरमा बिहीबार पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार गृहमन्त्री रास्वपाबाटै हुने बताएका हुन् । साथै उनले रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई टाउको दुखाइ विषय नभएको पनि बताएका छन् । 

‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो। त्यही अनुसार जानुपर्छ। रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम हो, रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई के को टाउको दुखाइ ?’ उनले भने, ‘किन चाहियो अदालतकाे पूर्णपाठ ? कण्ठ गर्ने हो र ?’ 

अहिले कुनैपनि कारणले सरकार संकटमा नपरेको पनि उनले दाबी गरेका छन् ।  

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन् । 

गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका बेला अध्यक्ष ओलीको उक्त धारणा सार्वजनिक भएको हो । यद्यपि, उनले लामिछानेलाई गृहमन्त्रीमा शपथ गराउन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका थिए । ओली र लामिछाने दुवैको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् ।

Logo