ग्याँस सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ ।
कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकहरुले यहाँ उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए । चिकित्सकहरुको सिफारिस अनुसार भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जनाएको छ । गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका छन् । सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको छ ।





























प्रतिक्रिया