काँग्रेस–एमालेसहितका किसान संघ, संगठनहरुले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काँग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् । पत्रकार सम्मेलनमा सो माग तत्काल सम्बोधन गराउनका लागि दवाव स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउनेसहितका आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ ।
रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको एक मात्रै सो अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत्र ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए ।
उनले किसानलाई राहत दिनका लागि सुरु गरिएको सो आन्दोलन आफूहरुको माग पूरा नभएसम्म जारी रहने चेतावनी समेत दिए ।
यही फागुन २६ गते सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय गरेको थियो । “रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेछ ।” कृषि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनहरुले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दवावस्वरुप आन्दोलन सुरु गरेका छन् ।
साथै पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको छ ।





























प्रतिक्रिया