नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ क्षेत्र नं १ मा पार्टीका तर्फबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गरेका हुन् ।
पार्टीमा हुनसक्ने असन्तुष्टिलाई थाती राखेर एकढिक्का भएर लागे विजय सम्भव रहेको महामन्त्री शर्माको भनाइ थियो । उनले आर्थिक विषयमा समेत ज्ञान भएको नेतृत्व संसद्लाई आवश्यक रहेको भन्दै भट्टराईको जित अनिवार्य भएको दाबी गरे ।
पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गठबन्धनका दल एकजुट रहेको बताए । उम्मेदवार भट्टराईको राजनीतिमा धेरै लामो योगदान, त्याग भएको तर अवसर नपाएको नेता भएकाले उपनिर्वाचनमा विजय गराएर न्याय गर्नुपर्ने भण्डारीले बताए ।





























प्रतिक्रिया