माओवादीको एजेण्डा अरुले खोस्ने अवस्था आयाे, अब अझै कडा तरिकाले प्रस्तुत हुन्छौँः प्रधानमन्त्री

माओवादीको एजेण्डा अरुले खोस्ने अवस्था आयाे, अब अझै कडा तरिकाले प्रस्तुत हुन्छौँः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्न दृढता व्यक्त गरेका हुन् । 

नक्कली शरणार्थी प्रकरणमा जस्तै, बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्दै उनले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्री दाहालले आग्रह गरे । “माओवादीको एजेण्डा अरुले खोस्ने जस्तो अवस्था देखा प-यो । भ्रष्टाचारी नै भ्रष्टाचार विरोधी जस्ता देखा परे । नयाँ खालका भनिएकाको अवस्था पनि त्यस्तै देखियो । यतिबेला नयाँ तरिकाको क्रान्ति सुरु भएको छ । यसलाई सफल बनाउन नयाँ तरिकाले जानुको विकल्प छैन”,उनले भने । 

नयाँ तरिकाको क्रान्तिबाटै पार्टी पनि नयाँ आधारमा विस्तार हुने उनको भनाइ थियो । सरकारको कामको प्रचारप्रसार गर्न र नकारात्मक कामको आलोचना गर्न पनि प्रधानमन्त्री दाहालले वाइसिएललाई आग्रह गरे ।

Logo