संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते

केन्द्रबिन्दु
0
Shares

संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसका लागि १० भदौदेखि नै प्रक्रिया प्रारम्भ हुनेछ । यसबारे बिहीबार नै सूचना प्रकाशित गर्ने तयारी गरिएको छ । 

दलहरूबीच नेपाली कांग्रेसले ४, नेकपा (एमाले) ३, नेकपा (माओवादी केन्द्र) २, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले १/१ समितिको सभापति पाउने गरी सहमति भएको छ। हालसम्म संसदीय समितिका सभापति चयन नहुँदा समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।

बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।

Logo