गृहजिल्ला पुगेर राष्ट्रपति पौडेलले भने- अब राजनीति गर्दिनँ, विकास र सुशासनमा लाग्छु

गृहजिल्ला पुगेर राष्ट्रपति पौडेलले भने- अब राजनीति गर्दिनँ, विकास र सुशासनमा लाग्छु

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताएका छन् । दलीय राजनीतिमा नलाग्ने भन्दै उनले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताए । 

तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताए । उनले भने, “देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ । विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु ।”

सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै उनले मुलुकका लागि विकास नै पहिलो सर्त रहेको उल्लेख गरे । 

संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गरे । उनले भने, “परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।” 

सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरे । व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै उनले पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्ने बताए । 

राष्ट्रपति पौडेलले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको भनाइ राखे । सबै राजनीतिक दल मिलेर एकाआपसमा सहकार्य गरी काम गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले दलहरु मिले मात्रै मुलुक बलियो बन्ने धारणा राखे । उनले भने, “दुई ठूला देशका बीचमा रहेको नेपाललाई एकताको बाटोमा हिँडाउनुपर्छ । सबै दल मिले मात्रै देश बलियो हुन्छ ।”

Logo