नेकपा स्थायी कमिटीको बैठक सकियो, १२ गते पुन बस्ने

नेकपा स्थायी कमिटीको बैठक सकियो, १२ गते पुन बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक सकिएको छ । बुधबार बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

त्यस्तै बैठकले छलफलका लागि सात एजेण्डा पनि तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सात एजेण्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षको मन्तव्य, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध रहेका छन् । विविधमा रुकुम घटनाको सन्दर्भ, प्रतिनिधि सभामा पेश भएको नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूकाे भत्ता रहेका छन् ।

प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै भने–‘आजको बैठकमा एजेण्डा तय गर्ने र अध्यक्षद्वयले धारणा राख्नु भयो । पार्टीको अर्को बैठक यही असार १२ गते बस्नेछ । सबै सदस्यहरुले आफ्ना धारणा राख्ने सहमति गर्दै आजलाई बैठक सकियो ।’
बुधबारको बैठकमा ओलीले अहिलेको परिस्थितिमा पार्टी, सरकारको कामबारे सकारात्मक सन्देश जाने गरी आफ्ना सुझाव, आलोचना र जिम्मेवारीपूर्वक छलफल गर्न आग्रह गरेका थिए भने प्रचण्डले पार्टी र देशको परिस्थितिलाई केन्द्रमा राखेर गम्भीरताका साथ छलफल गर्न आग्रह गरेको श्रोतले बतायो ।

यसअघि गत वैशाख १० मा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्यलगायतका २० जना नेपाल–दाहाल पक्षका सदस्यहरुले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन लिखित माग गरेका थिए । स्थायी कमिटीको बहुमत सदस्यले बैठकको माग गरेको १५ दिनभित्र बैठक राख्नुपर्ने नेकपाको विधानमा व्यवस्था गरिएको छ । सोही अनुसार पत्र लेखेको १५ दिन अर्थात वैशाख २५ मा स्थायी कमिटीको बैठक बस्नुपर्ने थियो । तर, वैशाख २५ का लागि बोलाइएको बैठक पनि अघिल्लो दिन एजेण्डा तय हुन नसकेको भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

त्यस्तैगरी वैशाख ३१ मा पार्टी मुख्यालयमा तय भएको बैठक पनि कोरोना भाइरसको जोखिम बढेको भन्दै स्थगित गरिएको थियो । नेकपाको स्थायी कमिटीको बैठक पछिल्लो पटक मंसिर २९ देखि पुस ६ सम्म बसेको थियो ।
पार्टी विधानअनुसार तीन महिनामा एक पटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । तर, करिब ६ महिनादेखि बैठक बस्न सकेको थिएन । नेकपाको स्थायी कमिटीको अर्को बैठक यही असार १२ गते विहान ११ बजे बस्नेछ ।

Logo