काठमाडौं ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ।
उक्त सम्झौता असार १६ गतेभित्र संसदबाट अनुमोदन भइसक्नु पर्नेछ। तर, सभामुख सापकोटाले १७ गतेसम्म संसद् बैठक स्थगन गरेका छन्। प्रमुख सचेतक देव गुरुङको सल्लाहमा सभामुख सापकोटाले एमसीसी सम्झौताको मिति टार्न बैठक पर सारेको सरकारको आरोप छ। ‘सरकारसँग सल्लाहै नगरी सभामुखले बैठक सार्नुभयो’, एक मन्त्रीले भने, ‘एमसीसी सम्झौता अनुमोदनका विषयमा पार्टीमा यत्रो छलफल भइरहेका बेला सभामुखले एकाएक एक साता पर बैठक सार्नु भएछ।’
एमसीसीबारे छलफल गर्न बुधबार पार्टीको स्थायी समिति बैठक बोलाइएको विषयलाई ख्यालमा नराखी सभामुखले बैठक स्थगन गरेको प्रधानमन्त्री केपी ओलीनिकट नेता बताउँछन् । ‘खै, हामीसँग सल्लाहै भएन’, ओलीनिकट एक नेताले भने, ‘सभामुख र प्रमुख सचेतकजीलाई थाहा होला।’
सभामुखको सचिवालय भने एमसीसी छल्नलाई बैठक नसारेको बताउँछ। यसबीच पारित भएका बजेट सम्बन्धी विधेयक प्रमाणित गर्न र १५ गते धान दिवस परेकाले १७ गते बैठक तोकिएको सभामुखको सचिवालयले जनाएको छ।
प्रमुख सचेतक गुरुङले भने बैठक तोक्ने सभामुखको क्षेत्राधिकार भएको र संसदबाट एमसीसी पारित गर्नै पर्ने संवैधानिक र कानुनी बाध्यता नभएको बताए । अन्तर्राष्ट्रिय कानुन, मुलुकको संविधान र कानुन अनुसार एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने आवश्यकता नभएको गुरुङको दाबी छ।
‘संसद् बैठक तोक्ने र स्थगन गर्ने सभामुखको क्षेत्राधिकार हो’, उनले भने, ‘अहिले बैठक बस्नुपर्ने र हतारो गर्नुपर्ने कुनै एजेन्डा संसदमा छैन । त्यही भएर १७ गतेसम्म स्थगन गरिएको हो।’ अमेरिकाको एउटा कम्पनीसँग एमसीसी सम्झौता गरिएको दाबी गर्दै उनले भने, ‘यसमा न अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ न त हाम्रो संविधानले नै अनुमोदन गर्ने व्यवस्था गरेको छ।’
उनले संविधानको धारा २७९ ले शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटको सन्धि वा सम्झौता मात्र संसद्ले अनुमोदन गर्ने व्यवस्था गरेकाले एमसीसीलाई अनुमोदन गर्नुपर्ने आवश्यकता नरहेको दाबी गरे।अन्नपूर्णबाट





























प्रतिक्रिया