हरेक वर्ष पाँच खर्बको बिजुली बेच्न सके, विकसित देशसरह हुन कति नै वर्ष लाग्ला र ?

हरेक वर्ष पाँच खर्बको बिजुली बेच्न सके, विकसित देशसरह हुन कति नै वर्ष लाग्ला र ?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । 

सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको टिप्पणी गरेका हुन् ।
 
“सकिन्नँ, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ । एकथरी तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्”, उनले प्रश्न गरे, “यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रोमात्र भइरहेको छ । म आज यो प्रश्नबाट सम्बोधन सुरु गर्न चाहन्छु कि के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्णरूपमा सम्भावनाहीन बन्दै गएको हो ?”
 
आफू दोस्रोपटक प्रधानमन्त्री हुनुअघिसम्म देशमा १८ घण्टासम्मको ‘लोडसेडिङ’लाई नियति मानिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आज लगभग सिङ्गो देशमा विद्युत्को पहुँच पुगेको स्पष्ट गरे । उनले भने, “वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ । विगत एक वर्षमा सात सय मेगावाटसम्म विद्युत् निर्यात गरी रु १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव २८ प्रतिशतले बढी हो । पाँच वर्षअघि यो अवस्थाको धेरैबाट कल्पना पनि गरिएको थिएन ।”
 
विक्रम संवत् १९६८ मा फर्पिङ जलविद्युत्बाट पाँच सय किलोवाट विद्युत् उत्पादनबाट सुरु भएको नेपालको विद्युतीकरण यात्रामा त्यसपछिका एक सय चार वर्षमा जम्मा आठ सय मेगावाटमात्र उत्पादन क्षमता पुगेको तर विगत ७ वर्षभित्र नेपालको विद्युत् उत्पादन क्षमता बढेर दुई हजार आठ सय ९२ मेगावाट पुगेको छ र जसमध्ये करिब पाँच सय ४१ मेगावाट यही एक वर्षमा मात्र थप भएको प्रधानमन्त्रीले जानकारी दिए ।
 
प्रधानमन्त्री प्रचण्डले भने, “विगतका हिसाबले यो एक वर्ष करिब असी वर्ष बराबर हो । तर, मैले यसमा सन्तोष मानेको छैन । मेरो विश्लेषणमा हामीसँग यस क्षेत्रमा भएको सम्भावनाको तुलनामा यो साह्रै सानो उपलब्धि हो, यसै वर्ष भएको मेरो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ ।”
 
यो नेपालको समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति भएको आँैल्याउँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको एकदमै नजिक पुगेको र नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन थालेको जानकारी पनि दिए ।
 
आफ्नो चीन भ्रमणका क्रममा नेपाल–चीन जोड्ने चिलिमे–केरुङ दुई सय २० केभी प्रसारण लाइन अगाडि बढाउने सहमति भएको उल्लेख गर्दै उनले यो प्रसारण लाइन बन्ने बित्तिकै चीनसँग पनि विद्युत् व्यापारको ढोका खुल्ने जानकारी दिए ।
 
“देशभित्र पनि हामी उद्योग र चुलोदेखि यातायातसम्म विद्युत् खपत बढाएर आत्मनिर्भरताको नयाँ युगतिर अगाडि बढ्दैछौँ, गम्भीर भएर सोचौँ त, देशले हरेक वर्ष कम्तीमा रु पाँच खर्बको बिजुली निर्यात गर्न र त्यति नै बराबरको आयात प्रतिस्थापन गर्न सक्दा अरू विकसित देशसरह हुन हामीलाई कति नै वर्ष लाग्ला र ?”, उनले प्रश्न गरे , “म निराशावादीहरूलाई सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमै यसअघि कहिल्यै थियो र ?  बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ । के यो लोकतन्त्रको उपलब्धि होइन र ?”

Logo