ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरणको व्यवस्था सिर्जना गर्नुपर्छः प्रधानमन्त्री

ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरणको व्यवस्था सिर्जना गर्नुपर्छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताएका छन् । 

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको बताएका हुन् । 

उनले ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई  राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरिरहेको बताए । उनले देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतिको सामना गर्न राज्यका सबै निकाय संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरे । 

ज्येष्ठ नागरिकले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय ज्येष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागिपरेको उनको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्था प्रभावकारी बन्दै गएको बताए । “सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रम प्रभावकारी देखिँदै आएको छ”, उनले भने, “आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु ।”

Logo