काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई मजबुद पार्न योगदान पुगेको बताएका छन् ।
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवाली शनिबार नेपाल फर्किएका हुन् । भ्रमणले नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान पुगेको मन्त्री ज्ञवालीले बताए। आयोगको बैठकमा कोभिड १९ को भ्याक्सिनको आवश्यकता पूर्ति गर्ने बारेमा भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको उनले जानकारी दिए। त्यसैगरी कोभिडका कारण बन्द रहेका हवाई तथा स्थलमार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडक अन्तर्गतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उनले बताए ।
बैठकमा रक्सौल, काठमाडौँ रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले शिघ्र काम शुरु गर्ने सहमति भएको छ । भैरहवामा एकिकृत चेकपोष्टको काम शिघ्र शुरु गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले महाकालीमा निर्माणाधिन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको बताए। बैठकमा भूकम्पपछिको पुनर्निर्माणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको छ ।
नेपाल भारतबीचको पारवहन र रेल सम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ । भ्रमणको क्रममा नेपालको निर्यात बढाउने ठोस उपाय अवलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ । कृषिमा थप सहकार्य गर्ने तथा जिटुजि प्रक्रियामा मल खरिद गर्ने एम ओ यु लाई गति दिने सहमति लगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए।
आयोगको संयुक्त बैठक दुवै पक्षलाई अनुकुल हुने समयमा नेपालमा आयोजना गरिने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए ।





























प्रतिक्रिया