विना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन कांग्रेसको माग

विना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन कांग्रेसको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले गरेको बाचा र कार्यशैलीमा भिन्नता देखिएको भन्दै भ्रष्टाचार गर्दिन र हुन दिन्न भन्नेमा प्रधानमन्त्रीले संसदलाई आश्वस्त तुल्याउनुपर्ने धारणा राखेका हुन् । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने, संविधान र लोकतन्त्रलाई खतरा पुग्ने काम नगर्नेमा संसदलाई आश्वस्त गराउने विश्वासका साथ संसद सुचारु गराउन प्रतिपक्षी दल तयार रहेको पनि उल्लेख गरे ।

उनले भने “काँधमा सवारले पो तुर्काएको रहेछ प्रधानमन्त्री तर तपाईले होइन । तर सर्वाङ्ग गन्हाउदै छ प्रधानमन्त्री । त्यसैले संसदमा आउनुहोस् । आश्वस्त तुल्याउनुहोस् भ्रष्टाचार अब गर्न दिन्न भनेर । संसदमा आउनुहोस् । आश्वस्त तुल्याउनुहोस्, संविधान र लोकतन्त्र कसैले मिच्न सक्दैन भनेर । ”

कांग्रेसले सेक्युरिटी प्रेस कमिसन प्रकरणका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बरखास्त गरेर भ्रष्टाचारको अभियोगमा कारवाही अघि चलाउन माग गर्दै फागुन ८ गतेको संसद अवरुद्ध गरेको थियो । प्रधानमन्त्रीले संसदमा आएर मन्त्री बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको भनिएको भिडियो सामाग्री र बाँस्कोटालाई कारवाही गर्ने प्रतिवद्धता गर्नुपर्ने माग गरेको थियो ।

उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै गर्दा मन्त्रालय भित्रैको भ्रष्टाचारले सिमा नाघेको र लाजमर्दो स्थिति श्रृजना भएको टिप्पणी गरे । आर्थिक अनियमिता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङको काम अघि नबढाउन सरकारलाई निर्देशन दिनु लाजमर्दो कुरा भएको टिप्पणी उनले गरे । उनले बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्रीले आफ्नो गुटलाई बचाउने काम गरेको आरोप लगाए ।

उनले भने “वालुवाटार जग्गा प्रकरणमा सरकारले अख्तियारलाई यसरी प्रभावित गर्यो । सर्वाङ्ग लाज लाग्दो स्थिति छ । विरोधी भए दोषी हुन् निर्दोष हुन् जेल जानुपर्ने । कम्युनिष्ट नै हुन् तर आफ्नो गुटका होइनन् भने तीनको बद्नाम गरिने , थरी थरीका आक्षेप लगाउने अनि सफाईको अर्को मौका पनि नहुने गरी नहुने गरी केसलाई अगाडि बढाउने । होइन आफ्नै गुटका भए जे लिएको भएपनि फिर्ता गरे पुग्छ भन्ने, यो भन्दा पराकास्ट केही हुदैन ।”

संसदको सार्वजनिक लेखा समितिले वाईडवडी जहाजबारे एकमहिना भित्र छानविन गर्न अख्तियारलाई लेखि पठाए पनि अहिलेसम्म प्रक्रिया अघि नबढेको भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

Logo