रामेछाप।
नेकपा रामेछापमा केपी ओली समूहले रामेछाप जिल्ला कमिटी पुनर्गठन गरेको छ । कमिटी पुनर्गठन गर्दै यसअघि अध्यक्ष रहेका धावा लामालाई पदमुक्त गरेर नेकपा (ओली पक्ष) को अध्यक्षको जिम्मेवारी आनन्द श्रेष्ठ चयन गरेको हो ।
सचिवमा यस अगाडिका पार्टी सचिव शान्तिप्रसाद पौडेल प्रचण्ड–माधव समूहमा लागेपछि उनलाई हटाएर पुरुषोत्तम कडेरियालाई सचिव चयन गरेको छ ।
पार्टी विभाजनसँगै अध्यक्ष मैनकुमार मोक्तान र सचिव शान्तिप्रसाद पौडेल प्रचण्ड–माधव नेपाल समूहमा लागेपछि बुधवार मन्थलीमा आयोजित कार्यकर्ता भेलाबाट नयाँ नेतृत्व चयन भएको हो । कडेरिया प्रचण्ड–माधव नेपाल पक्ष छोडेर बुधवारकै कार्यक्रमबाट ओली पक्षमा खुलेका हुन् । श्रेष्ठ र कडेरिया दुवैजना विद्यार्थी राजनीतिबाट पार्टीको नेतृत्वमा गएका हुन् भने श्रेष्ठ पूर्व एमालेका पार्टी सचिव हुन् ।
कार्यकर्ता भेलामा नेकपाका स्थायी कमिटी सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अथिति रहेका थिए । नेकपा रामेछापले गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता पोखरेलले प्रचण्डको काम नै पार्टी विभाजन गर्ने र पार्टी फुटाउने भएकाले उहाँलाई दिने सजाय भनेको आउने चुनावमा नांगेझार बनाउने बताएका छन् ।
अहिलेको लडाईं स्वाधिनता, राष्ट्रिय एकता संरक्षण र आत्मसमर्पणवाद रोक्नका लागि भएको उनले बताएका छन् । केपी ओली कुनै एक व्यक्ति नभएर विचार र संगठन भएको पोखरेलको भनाई छ ।





























प्रतिक्रिया