नेकपा बैठकमा ११ वटा समूहका प्रतिवेदन प्रस्तुत

नेकपा बैठकमा ११ वटा समूहका प्रतिवेदन प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा शनिबार ११ वटा समूहका प्रतिवेदनहरु प्रस्तुत भएका छन् ।

बुधबारबाट जारी बैठकमा विभिन्न ११ वटा समूहका नेताहरुले आफ्नो समूहको प्रतिवेदन प्रस्तुत गरेका हुन । यसअघि शुक्रबार ४ वटा समूहका प्रतिवेदन प्रस्तुत भएका थिए । नेकपा केन्द्रीय सदस्य प्रेमल कुमार खनालले पार्टीलाई एकतावद्ध बनाउनुपर्ने, एकता र एकीकरणको लय बढाउँदै लानुपर्ने, पार्टी सदस्यता नविकरणलाई प्राथमिकता दिनुपर्ने र विदेशी मुलुकहरुसँग पञ्चशिलको आधारमा सम्बन्धहरु कायम गर्नुपर्ने कुरा बैठकमा सबै समूहबाट प्रस्तुत भएको बताए ।

त्यसैगरी नेकपाभित्र बहसको विषय बनेको एमसीसीका सन्दर्भमा पार्टीभित्र गम्भिर रुपमा छलफल गर्नुपर्ने, राष्ट्रियता र सुरक्षाका हिसाबले बलियो बनाउँदै राष्ट्रियतामा आँच नआउने गरी अगाडी बढाउनुनपर्ने माग पनि बैठकमा उठेको छ । पार्टीको अर्को केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेगरी गम्भिर रुपमा अध्ययन गरेर निष्कर्ष निकाल्नुपर्ने माग पनि बैठकमा भएको उनले बताए ।

बैठकमा संवैधानिक अंगहरुमा नियुक्त गर्नुपर्ने र राज्यकोषबाट पेन्सन पाइरहेका व्यक्तिहरुलाई संवैधानिक निकायको नेतृत्वमा पुर्‍याउन नहुने माग पनि भएको छ । त्यसैगरी पार्टीका हरेक कमिटीमा महिला सहभागिता अनिवार्य गराउनुपर्ने, केन्द्रीय सचिवालय १५ सदस्यीय बनाएर महिला सहभागिता गराउनुपर्ने माग पनि भएको उनले बताए । अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एउटा व्यक्ति कति पटकसम्म लाभको पदमा बस्न पाउने भन्ने कुराको मापदण्ड बनाउनुपर्ने विषयमा पनि बैठकमा उठाइन्। एउटै व्यक्तिले पटक पटक अवशर पाउँदा पार्टीका लागि त्याग गरेका कयौँ नेता कार्यकर्ताहरुलाई उपेक्षा गर्दा पार्टीमा निराशा बढ्ने भएकाले यसतर्फ ध्यान दिन पनि आग्रह गरिएको उनले बताइन् ।

Logo