काठमाडौं ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कमण्डलु बोकेर नेपाली कांग्रेसले उपसभामुखको भिख नमाग्ने बताएका छन् । प्रतिनिधी सभाको आजको बैठकमा बोल्दै उनले विपक्षीलाई उपसभामुख दिनु पर्ने जिकिर गरे ।
रिजालले भने –‘कमण्डलु बोकेर नेपाली कांग्रेस उपसभामुखको भिख माग्दैन ।’ उनले यसअघि सभामुखमा उम्मेदवार नदिनुको कारण पनि खुलाए ।
उनले प्रतिनिधि सभा समक्ष सभामुखको उम्मेद्वारीका सम्बन्धमा कांग्रेसको संसदीय दलले गरेको निर्णय पढेर सुनाए । पार्टीको निर्णयलाई बढाई चढाई प्रस्तुत गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले नेकपासँग यथेष्ठ बहुमत रहेको र सभामुख पद तटस्थ रहनुपर्ने भएकाले कांग्रेसले उम्मेद्वारी नदिने निर्णय गरेको जानकारी गराएका थिए ।
संविधान अनुसार सभामुख उपसभामुख एउटै पार्टीको हुनुहुदैन भन्दा अदालतमा रहेको विचाराधिन मुद्दालाई प्रभावित गर्न खोजेको आरोप लगाईएको स्मरण गराउदै उनले संविधानको सही ढंगले कार्यान्वयन गर्न पनि नेकपालाई सचेत गराए । उनले व्यक्ति विशेष भन्दा पनि सभामुख पदमा बस्नेले सरकार संसदप्रति निरन्तर उत्तरदायी हुनुपर्छ भन्ने संसदीय परम्परालाई बोक्न सक्नुपर्ने र सो मर्मलाई स्थापित गर्नका लागि सभामुखको योगदान हुनुपर्ने अवधारणामा आफुहरु अडिग रहेको स्पष्ट पारे । आगामी दिन विधिको बाटोमा मुलुक हिड्छ कि हिड्दैन, लोकतन्त्र खुम्चिन्छ कि फैलिन्छ भन्ने आशंका आमरुपमा उब्जिएको उल्लेख गर्दे उनले सभामुख चयन हुदै गर्दा सांसद सापकोटाले सबै आशंकालाई कार्यसम्पादनका क्रममा हटाउन सक्नुपर्ने उल्लेख गरे ।
उनले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गराउँदै कांग्रेस कमाण्डलु बोकेर उपसभामुख पद माग्न संसदमा प्रस्तुत नभएको जिकिर गरे । सरकारलाई संसदप्रति निरन्तर उत्तरदायी बनाउने कुरामा सभामुखले जिम्मेवारी भूमिका खेल्नुपर्ने भन्दै उनले सभामुख पक्ष र विपक्षभन्दा माथि उठेर सभाको अनुहार बन्नुपर्ने बताए । सभामुखलाई संसदको गरिमा कायम गर्ने कुरामा कांग्रेसको पनि साथ रहने उनले बताए ।





























प्रतिक्रिया