प्रतिनिधि सभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटा

प्रतिनिधि सभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सापकोटा सत्तारुढ नेकपाद्वारा प्रतिनिधि सभाको सभामुखमा प्रस्ताव गरिएका थिए । प्रतिनिधि सभाको आजको बैठकले सभामुख पदमा अन्य कसैको पनि उम्मेद्वारी नपरेपछि सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । बैठकको अध्यक्षता गरिरहेका प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरले उनलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

सभामुखमा अन्य कुनै दलले उम्मेद्वारी नदिएपछि सापकोटा सभामुखका एक्लो उम्मेद्वार बनेका थिए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र सभामुखमा उम्मेद्वारी नदिएकोमा नेतृत्वको चर्को आलोचना समेत भएको थियो । प्रतिपक्षमा रहेको अर्को दल राष्ट्रिय जनता पार्टी सापकोटाको उम्मेद्वारीको समर्थक बसेको थियो । एक महिनाअघि सरकारबाट बाहिरिएर प्रतिपक्षमा बसेको समाजवादी पार्टी सभामुखमा सापकोटाको उम्मेद्वारीप्रति मौन रहेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ्गले सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । नेम्वाङ्गले प्रस्तुत गरेको प्रस्तावमा नेकपाका देव गुरुङ्ग, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन जनाएका थिए ।

सभामुखको प्रस्तावमा समर्थकहरुले बोल्ने क्रम सकिएपछि बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजालले बोलेका थिए । उनले प्रतिनिधि सभा समक्ष सभामुखको उम्मेद्वारीका सम्बन्धमा कांग्रेसको संसदीय दलले गरेको निर्णय पढेर सुनाए । उनले कांग्रेस कमाण्डलु बोकेर उपसभामुख पद माग्न संसदमा प्रस्तुत नभएको बताए ।

यसअघि सापकोटालाई सभामुख नबनाउन माग गर्दै शुक्रबार सर्वोच्चमा परेको रिटमाथि आइतबारका लागि तोकिएको सुनुवाई सरेको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाई सर्वोच्च अदालतले न्यायाधीश हरि फुयाँलको एकल इजलासमा तोकेको थियो । न्यायाधीश फुयाँलले सापकोटा विरुद्ध यसअघि दायर भएको मुद्दामा आफूले कानुन व्यवसायीको रुपमा वकालत गरेका कारण अहिलेको मुद्दा सुनुवाई गर्न नमिल्ने अडान लिएपछि रिटमाथिको सुनुवाई सारिएको हो ।

सापकोटाको सभामुखमा उम्मेद्वारीप्रति अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरुले पनि चासो व्यक्त गरेका छन् । मानव अधिकार र न्यायको क्षेत्रमा काम गर्दै आएका इन्टरनेशनल कमिसन अफ जुरिस्ट (आई सि जे), एम्नेस्टी इन्टरनेशनल, ह्युमन राईट्स वाच र ट्रयाल इन्टरनेशनलले शनिबार विज्ञप्ती जारी गर्दै हत्याको अभियोग लागेका सापकोटाको सभामुखमा उम्मेद्वारीप्रति पूनर्विचार गर्नुपर्ने बताएका थिए ।

Logo