कांग्रेसको आन्तरिक विवाद : लचिलो हुँदै देउवा

कांग्रेसको आन्तरिक विवाद : लचिलो हुँदै देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीभित्रका आन्तरिक विवाद समाधानका लागि लचक हुने संकेत गरेका छन् । देउवाले ११ पुसको केन्द्रीय समिति बैठकमार्फत पार्टीको १४ औं महाधिवेशनको मिति तोक्नेसहित बहुमतबाट विधानका केही धारासमेत निलम्बनको निर्णय गरेका थिए । सो निर्णयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निरन्तर असन्तुष्ट रहँदै आएपछि देउवाले विवाद समाधानका लागि विधानका धारा निलम्बनको विषयमा लचक हुने संकेत गरेका हुन् ।

‘सभापतिको लक्ष्य नै महाधिवेशन हो, पछिल्ला निर्णयपछि पहिलेदेखि नै असन्तुष्ट रहँदै आएका समूह झनै असन्तुष्ट भए । सबैको सुझावपछि सभापतिज्यू विधानका धारा निलम्बनको विषयमा केही लचक हुने गरी तयारी गरिरहनु भएको छ,’ देउवा निकट एक नेताले भने । देउवाले कांग्रेसभित्रको पछिल्ला विवाद समाधानका लागि गत आइतबार बूढानीलकण्ठस्थित निवासमा वरिष्ठ नेता पौडेल र सिटौलालाई बोलाएर छलफल गरेका थिए । सो छलफलमा विवाद समाधानका लागि अग्रसरता लिन भन्दै देउवाले सिटौलालाई आग्रहसमेत गरेका थिए ।

त्यसयता बुधबार र बिहीबार सिटौलासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधिबीच दुईपटक वार्ता भएको छ । ‘सभापतिजीले कसरी सहमति हुन्छ, त्यसरी नै जाऔं भन्नुभएको छ तर कन्टेन्टमा छलफल सुरु भएको छैन,’ पूर्वमहामन्त्री सिटौलाले भने ।

उनले महाधिवेशनलाई कसरी निष्पक्ष बनाउन सकिन्छ र कसरी सबैले परिणाम मान्ने गरी वातावरण निर्माण गर्न सकिन्छ, त्यसतर्फ आफूले सभापतिलाई अघि बढ्न सुझाएको जानकारी दिए । ‘१४ औं महाधिवेशनलाई कसरी निष्पक्ष बनाउन सकिन्छ र कसरी परिणामलाई सबैले मान्ने गरी विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने महत्वपूर्ण विषय हो, त्यसतर्फ सभापतिलाई अघि बढ्न सुझाएका छौं । सहमति नहुने अवस्था पनि छैन,’ सिटौलाले भने ।

वरिष्ठ नेता पौडेल भने हाल उपचारका लागि भारतमा छन् । उनी फर्किएपछि सिटौला, सिंह र निधिबीच भएको सहमतिलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । कांग्रेसको केन्द्रीय समिति बैठक ११ पुसयता बस्न सकेको छैन । विभाग गठन, विधानका धारा निलम्बन, महाधिवेशनको कार्यतालिकामा एकलौटीलगायत विषयलाई लिएर असन्तुष्ट समूहले निरन्तर बैठक बहिष्कार गरेपछि संस्थापन समूहले बैठक नै रोकेको थियो ।
राजधानीबाट

Logo