कांग्रेस बैठक आज पनि नबस्ने, नेविसंघ नेतृत्वमा सहमती जुटेन

कांग्रेस बैठक आज पनि नबस्ने, नेविसंघ नेतृत्वमा सहमती जुटेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भ्रातृ संगठन नेविसंघको नेतृत्वका सम्बन्धमा कांग्रेसभित्र सहमति जुट्न नसकेपछि आज पनि केन्द्रीय समितिको बैठक नबस्ने भएको छ ।

महाधिवेशनको कार्यतालिका र विभाग गठनमा सहमती नजिक पुगिएपनि नेविसंघ नेतृत्वमा संस्थापन र असन्तुष्ट पक्ष आआफ्नै अडानमा कायम रहेपछि आज अपरान्ह १ बजेका लागि बोलाईएको केन्द्रीय समिति बैठक पनि स्थगित हुने सम्भावना छ । मूख्य विषयमा सहमती जुटी नसकेकाले आजको बैठकमा पनि आफूहरु सहभागि नहुने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका वार्ता टोली सदस्य हृदयराम थानीले जानकारी दिए ।

यसअघि हिजो साँझ दुवै पक्षका वार्ता टोलीवीच चाक्सिबारीमा छलफल भएपनि सहमती जुट्न सकेन । छलफलमा संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि तथा पौडेल पक्षबाट पुर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्यहरु दिलेन्द्र प्रसाद बडु र हृदयराम थानी सहभागि थिए । थानीका अनुसार सहमती जुट्न नसकेको मूख्य विषय नेविसंघको नेतृत्व हो । पछिल्लो पटक नेविसंघका सम्बन्धमा पौडले पक्षले नयाँ विधान अनुसार ३२ बर्ष मुनीका विद्यार्थी नेताहरु राखेर कार्यसमिति गठन गर्ने विकल्प अघि सारेको छ । तर संस्थापन पक्षले भने पुरानै विधान अनुसार अघि बढ्नुपर्ने भन्दै राजीव ढुंगानालाई अध्यक्ष बनाउने अडान दोहोर्याएको छ ।

हिजोको छलफलमा सहमती जुट्न नसकेपछि दुवै वार्ता टोलीका सदस्यहरु आ आफ्ना समूहका शिर्ष नेतासँग कुरा गर्ने भन्दै छुट्टिए । अहिले केहीबेरमा पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक चाक्सिबारीमा बस्दैछ । महाधिवेशनको विस्तृत कार्यतालिका, विभाग गठन तथा भ्रातृ संगठनको नेतृत्व लगायतका विषयमा सहमती जुट्न नसक्दा मंसिर २६ गतेदेखि शुरु भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अहिलेसम्म एजेण्डामा प्रवेश नै नगरी स्थगित गरिंदै आएको छ ।

Logo