भक्तपूरका काँग्रेस नेता ढुङ्गेलको अन्त्येष्टि

भक्तपूरका काँग्रेस नेता ढुङ्गेलको अन्त्येष्टि

केन्द्रबिन्दु
0
Shares

भक्तपूर ।

नेपाली काँग्रेसका नेता एवं दोस्रो संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनुभएका ढुङ्गेलको गत आइतबार मष्तिस्काघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारकै क्रममा ६० वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

वि.सं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित ढुङ्गेलको हिजो नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको स्थानीयवासी रामहरि थापाले जानकारी दिए ।

आर्यघाटमा स्व ढुङ्गेलको पार्थिव शरीरमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनले ढुङ्गेलको निधनले नेपाली काँग्रेसले निष्ठावान् र होनाहार नेता गुमाएको भन्दै दुःख व्यक्त गरे । आर्यघाटमा काँग्रेसका नेताहरु शेखर कोइराला, बालकृष्ण खाँड, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, ३ नं प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, क्षेत्र नं १ का सभापति नारायण खायमली, क्षेत्र नं २ का सभापति जीवन खत्रीलगायत काँग्रेस जिल्ला समितिका पदाधिकारी लगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

ढुङ्गेलको पार्थिव शरीरलाई गौशालादेखि शवयात्रा गरी आर्यघाट पु¥याएर श्रघाञ्जलि अर्पण गरी दाहसंस्कार गरिएको स्व ढुङ्गेलका भाइ विश्व ढुङ्गेलले जानकारी दिए । ढुङ्गेललाई जेठा पुत्र सविनले दागबत्ती दिएका थिए।

ढुङ्गेल विसं २०४० देखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका गाविस अध्यक्षसमेत निर्वाचित भएका थिए । उनले कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालई खानेपानी खुवाएपछि उनलाई पानी पिताका रुपमा समेत स्थानीयवासीले मान्दै आएका थिए ।

 

Logo