काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डाहरू तय गरेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागिता रहेको सचिवालय बैठकले स्थायी कमिटीमा विधान संशोधनको एजेण्डा प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्थायी कमिटीमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक र नेपाल भारतको सीमा बैठकलगायत विविध कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य तीव्ररूपमा सुधार भइरहेको जानकारी गराउनुभएको थियो । बैठकले उहाँको राम्रो स्वास्थ्यप्रति खुशी प्रकट गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यसअघि यही मङ्सिर २३ गतेको सचिवालय बैठकले मङ्सिर २७ गते शुक्रबारका लागि बैठक तय गरे पनि स्थायी कमिटीको तयारीका कारण स्थगित गरिएको थियो । सोही कारण शनिबारको बैठकसमेत स्थगित भएको थियो । नेकपाका अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलगायत नेताहरुसँग छलफल गरी स्थायी कमिटीमा पेश गर्ने दस्तावेज तयार गरेका थिए ।





























प्रतिक्रिया