उपनिर्वाचन ०७६ : भोजभतेर रोक्न सुझाव

उपनिर्वाचन ०७६ : भोजभतेर रोक्न सुझाव

केन्द्रबिन्दु
0
Shares

वीरगंज,
पर्साको सखुवा प्रसौनी गाँउपालिका–५ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्ष्य गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन आचारसंहिता र उम्मेदवारको मनोनयनबारे सर्वदलीय तथा सर्वपक्षीय अन्तक्रिया कार्यक्रम गरेको छ ।

सखुवा प्रसौनी गाँउपालिका–५ का वडाध्यक्ष वृजमोहन राय यादवको मृत्युपछि सो पदका लागि उपनिर्वाचन हुन लागेको हो । सो गाउँपालिकाको वडा नं २ स्थित दीपनारायण आदर्श माध्यमिक विद्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, ०७३ को दफा ५ को उपदफा १ बमोजिम निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ । सोही गाँउपालिका–५ महुवन स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा निर्वाचन हुने र त्यहाँ एउटा मतदान केन्द्र तथा तीन मतदान स्थल कायम गरिएको छ ।

महुवन, बलुवा र सोलखपुर गाउँ रहेको उक्त वडामा दुई हजार ६०२ मतदाता छन् । अन्तक्रियामा राजनीतिक दलका प्रतिनिधि र सम्भावित उम्मेदवारले निर्वाचनमा धाँधली रोकिनुपर्ने, दल तथा उम्मेदवारले आचारसंहिता पालना गर्नुपर्ने, फजुल खर्च रोक्नुपर्ने, मतदातालाई प्रभावमा पार्न उम्मेदवारद्वारा गरिने भोजभतेर रोकिनु पर्ने लगायत सुझाव दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गर्न स्थानीय प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रञ्जिता झा, सखुवा प्रसोनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल, मुख्य निर्वाचन अधिकृत प्रकाश खरेल, नेकपाका वासुदेव थारु, राष्ट्रिय समाजवादी पार्टीका रुपलाल यादव, राजपाका चन्द्रिका साह, राप्रपाका नगिनाप्रसाद यादव, बहुजन शक्ति पार्टीका नुरआलम अन्सारी, राष्ट्रिय जनपार्टीका केशवराज सुकला लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Logo