काठमाडौँ,
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउनु भएको छ । नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं ३ समितिले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा सभापति देउवाले रेडियो नेपालको दिपायल कार्यालयमा कामबाट हटाईएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न माग समेत गर्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपालका आदिवासी जनजातिमध्ये मगर समुदायको जनसङ्ख्या सबैभन्दा बढी भएकाले सोही अनुसार काङ्ग्रेसले प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्ष दलकै निर्देशनमा आफ्नो पार्टीमाथि एकपछि अर्को आक्रमणका घट्ना भएको आरोप लगाउँदै घटनाका अपराधिलाई कारवाही नगरे काङ्ग्रेस चुप लागेर नबस्ने बताउनुभयो । उहाँले संविधानले अङ्गिकार गरेका बहुलवाद, बहुदलीय लोकतन्त्रलगायतका मूलभूत व्यवस्थामाथि सरकारबाटै खतरा देखिएको आरोप लगाउनुभयो ।
महामन्त्री डा शशाङ्क कोइरालाले ठूलो सङ्घर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधान अनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको जिकिर गर्नुभयो । साथै उहाँले काङ्ग्रेस नेतत्वको सरकारले विगतमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार विकास, यातायात, पर्यटनलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्दै आगामी दिनमा कृषिको व्यवसायिकरणमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
गोरखापत्रबाट





























प्रतिक्रिया